‘नेपालमा कम्युनिष्टको फ्रान्चाइज खोल्न मिल्छ भने भाजपाको किन मिल्दैन् ?’

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले नेपालमा कम्युनिष्टको नाममा पार्टी खोलेर राजनीति गर्न मिल्छ भने भारतीय जनता पार्टी (भाजपा)को नाममा पार्टी खोल्न किन नमिल्ने ? भनी प्रश्न उठाएका छन् ।

भारतीय एक नेताले नेपाल र श्रीलंकामा भाजपाको शाखा विस्तार गर्ने भनेर बोलेको विषय चर्चामा रहेको बेला पब्लिक इनोभेटरको रुपमा चिनिदै आएका कँडेलले भने, ‘कम्युनिष्टको नाममा नेपालमा फ्रान्चाइज खोल्न मिल्ने, भाजपाको किन नमिल्ने ? कम्युनिष्ट विचार नेपालमा जन्मिएको मौलिक विचार त होइन् । विदेशी नै हो । कम्युनिष्ट विचारको नाममा राजनीति गर्न दिने हो भने भाजपालाई पनि दिनुपर्ने हुन्छ ।

उनले अहिले अपनाइदै आएको वेष्ट मिनिस्टर प्रणाली पनि बेलायतबाट आयात गरिएको उदाहरण दिँदै कुनै दर्शनलाई निषेध गर्ने कसैलाई छुट गर्ने काम राम्रो नहुने बताए । नेपालको शासन व्यवस्था नेपालकै मौलिक हुनुपर्ने कँडेलको तर्क छ । यदि विदेशीका राजनीतिक दर्शनअनुसार नेपालमा पार्टी खोल्न र राजनीति गर्न दिने हो भने कसैलाई दिने कसैलाई छुट दिने कुरा नमिल्ने उनले बताए ।

कँडेलले भने, ‘काँग्रेस वेष्ट मिनिस्टर प्रणालीको संसदीय व्यवस्था भन्ने, कम्युनिष्टहरु माक्सवादी, लेलिनवादी, माओवादी, के के वादी भन्ने । मुलुक वादैवादको पछि लाग्दैमा र प्रयोग गर्दैमा विकासमा निकै पछि परिसक्यो । हामीले हाम्रो विकास गर्ने हो भने आफ्नै मौलिक शासन प्रणाली चाहिन्छ । मौलिंक खालका पार्टीहरु चाहिन्छ जसले सही अर्थमा देश र जनताको हित गरोस् । होइन्, माओवादी, लेलिनवादी, माक्सवादी भन्न पाइन्छ भन्ने हो भने भाजपावादी पनि भन्न किन नपाउने भन्ने प्रश्न उठिहाल्छ ।’

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकमा भाजपालाई विस्तार गर्ने बताएका थिए । उक्त भनाई सार्वजनिक भएपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विदेश मन्त्रालयका अधिकारीहरुलाई भेटेर यस विषयमा चासो राखेका थिए । शाहले सन् २०१८ मा पनि भाजपाको पार्टी विस्तार गर्ने बताएका थिए ।