प्रधानमन्‍त्रीको झापा बसाइ एक दिन : मन्दिर उद्‍घाटनदेखि सम्बोधनसम्म

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका छन् । आइतबार बिहान गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले दमकको कृष्ण मन्दिर उद्धघाटन गरेका छन् भने बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्‍की पुल पनि उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले उद्धघाटन गरेका सडक र पुलमा संघीय सरकारको लगानी छ । ६ दशमलव २१ किमी लम्बाइको उक्त सडकको लागत चार करोड १६ लाख २२ हजार १ सय ५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो ।

त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ। ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो ।

प्रधानमन्त्री ओलीले आइतबार नै दमक नगरपालिका १ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने र बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री आजै बेलुका काठमाडौं फर्किने जनाइएको छ।