दुषित प्रचण्डमुक्त नेपाल” बनाउनुपर्छः पूर्वमन्त्री बस्नेत

इटहरी, नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल तथा नेपाली राजनीतिलाई दुषित बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमुक्त बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै सांसद बस्नेतले प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्दै नेपाली जनताको मुर्छित सपनाहरुलाई पुरा गर्न नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारी तथा नेपाली जनताको मूर्छित सपनालाई पुरा गर्न नदिने प्रदुषित प्रचण्डमुक्त नेपालको घोषणा गर्नुपर्छ । प्रचण्डमुक्त नेपाल भएमात्र नेपाली राजनीतिले सहित गति लिन सक्छ । प्रचण्डको आगामी राजनीतिक यात्रामा अगाडी भिर छ, पछाडी पहिरो छ । त्यसैले माओवादी भुगोलमा होइन, अब गुगलमा खोज्नुपर्छ ।’

प्रचण्डले मुलुक र जनताको हितमा भन्दा पनि आफ्नो परिवारवाद रुमलिएको उल्लेख गर्दै प्रचण्डले आफ्नो विगतको लडाकु समायोजनको ३४ अर्वभन्दा बढी रकम भ्रष्टाचार गरेको पुनः दोहोर्याउनुभयो । सोही प्रकरणलाई प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानविनको दायरामा ल्याउनुभएपछि ओलीलाई गलत्याएर निकाल्न खोजेको आक्रोस व्यक्त गर्नुभयो । त्यस्तै नेता बस्नेतले वालुवाटार काण्ड, सुन काण्डलगायतका छानविनको दायरामा ल्याउन थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने खेल शुरु भएको बताउनुभयो ।

मुलुकमा कम्युनिष्ट पार्टीको बारेमा गंभिर समिक्षा गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई चौतर्फी रुपमा घेरावन्दी गरी असफल बनाउ र नेपालको कम्युनिष्ट आन्दोलनबाट गलत्याउने षड्यन्त्र प्रचण्ड तथा माधव कुमार नेपाल समूहले गरेको बताउनुभयो । मावध तथा झलनाथ खनालले अबका दिनमा एमालेमा रहेर राजनीतिक रुपमा आफ्नो अस्थित्व सक्किने वा सच्चिने दुई मध्ये एक बाटो अंलाग्न समेत सुझाव दिनुभयो । प्रचण्डको योजनामा एमालेलाई ध्वंस गर्न माधव नेपाल एमालेमा फिर्ता आएको आक्रोस व्यक्त गर्दै नेता बस्नेतले माधव–झलनाथ प्रचण्डको सुराकी भएकोले आम एमालेका कार्यकर्ताले सजग हुनुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल तथा झलनाथ खनालले प्रचण्डको सिता खाएर पार्टीलाई ध्वस्त पार्ने योजना बनाउनुभयो भने तपाई सच्चीनुपर्छ कि सक्किनुपर्छ । एमालेमा ध्वंस गर्न तथा सुराकीको रुपमा माधव नेपाल–झलनाथ खनाल एमालेमा फिर्ता आउनुभएको उहाँको गतिविधिले प्रष्ट पारिसकेको छ । आजै मात्र पनि एमालेको गतिविधिलाई रिपोर्टिङ गर्न पेरिसडाँडा डा. भिम रावल पुग्नुभएको तथ्य सार्वजनिक भइसकेको छ । त्यसैले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न सकिँदैन ।’

पार्टीभित्र गुटवन्दी गरी मुलुकलाई अस्थिरताको बाटोमा लैजाने कुचेष्ठा नगर्न माधव समूहलाई चेतावनी दिँदै नेता बस्नेतले हिम्मत भए चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउनुपर्ने आग्रह गर्नुभयो । बैठकमा चित्त नबुझेका कुराहरु राख्न तथा आगामी दिनमा पार्टीको रणनीतिको वारेमा नीतिगत निर्णय गरी अगाडी बढ्न सकिने बाटोमा अगाडी बढ्न माधव समूहलाई आग्रह गुर्नभयो ।

पार्टीको कुनै पनि जिम्मेवारी लिन होटल तथा सडकबाट सम्भव नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘माधवलाई पार्टीको अध्यक्ष बन्ने मन भए मंसिर २ गते देखी ६ गतेसम्म हुने १०औं महाधिवेशनमा जानुपर्छ । सडकमा गएर अध्यक्ष होईदैन । कार्यकर्ताको मन जित्नुस्, हामी अध्यक्ष मान्न तयार छौं ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका गतिविधिलाई केही विदेशी नेपाली दलालहरुलाई नपचेको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको शिर उचो बनाउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आम नेपाली जनताको मूर्छित सपनाहरुलाई व्युँझाउनुभएको स्मरण गर्दै विकास र समृद्धिको यात्रामा दौडिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकार आएपछि सुरुङमार्ग, रेल मार्ग, हवाई मार्ग, रानीपोखरी, धरहरा, करिव चार सय अस्पताल एकै दिन शिलान्यास, औद्योगिक क्षेत्रहरुको शिलान्यास, विद्युत उत्पादनलाई व्यापक गरी विदेशमा वेच्ने वातावरण सिर्जना गरेको, प्रत्येक युवालाई श्रमसँग जोड्ने, सामाजिक सुरक्षाको घोषणा, तुहिनरहित नेपालको घोषणा, भ्रष्टाचारीलाई कारवाहीको शुरुवातलगायतका कार्यहरुबाट अत्तालिएका तत्वहरुले ओलीको विरोध गरिरहेका छन् । तर जनताले प्रष्ट बुझेका छन् । हिम्मत भए निर्वाचनमा जाऔं । जनताको अपार मत र मायाँ कसमा छ भन्ने कुरा प्रमाणीत हुन्छ ।