प्रदेश र केन्द्रमा समेत कर्णालीकै जस्तो फ्लोर क्रस हुनसक्ने भीम रावलको चेतावनी

काठमाडौं, पूर्वउपप्रधानमन्त्री भीम रावलले कर्णाली प्रदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोहको शुरुवात भएको बताएका छन् । उनले कर्णालीमा मात्र नभई अन्य प्रदेश र देशैभर विद्रोहको चेतावनी समेत दिए ।‘कर्णालीमा मात्र नभई आवश्यक परेमा सुदूरपश्चिमले पनि यस्तो कदम चाल्न सक्छ, पूर्व पनि चाल्न सक्छ, देशभर त्यस्तै हुनसक्छ,’ रावलले धनगढीमा आयोजित कार्यक्रममा फ्लोर क्रसको चेतावनी दिदै भने । उनले फ्लोर क्रस गर्ने प्रदेश सांसदहरुको खुलेर प्रशंशा पनि गरे । उनीहरुलाई नेकपा एमाले रक्षाका लागि बलिदानी दिन तयार योद्धाको संज्ञा दिए ।

ओलीविरुद्ध आक्रामक तरिकाले प्रस्तुत भएका रावलले आफूहरु कुनै हालतमा नडग्ने बताए । उनले एमाले जोगाउन आफूहरु जस्तोसुकै त्यागका लागि तयार भएको समेत बताए ।गण्डकी प्रदेशमा विशेष अधिवेशनको निवेदन दर्ता भएको र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको, लुम्बिनीमा पनि अविश्वासको प्रस्तावको तयारी भइरहेको र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारीले गति लिइरहँदा रावलको भनाई आएको हो । उनले फ्लोर क्रसलाई शुरुवात मात्र भन्दै तत्काल नसच्चिए ओलीविरुद्ध योभन्दा कडा कदम चाल्ने चेतावनी समेत दिए ।-फाइल तस्बिर