जसपाको विवाद साम्य हुँदै, पार्टी निर्णयमा भट्टराई, यादव र राईको हस्ताक्षर चल्ने ।

काठमाडौं   :    जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ । कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्नेछ । सोमबार बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो ।

पार्टीका एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय समितिले पार्टी हेडक्वार्टर गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । साथै स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चलाउने निर्णय पनि भएको छ । कार्यकारिणी समिति वा केन्न्द्रीय समिति बैठक बस्न नसकेको बेलामा पार्टीले तत्काल लिनुपर्ने आवश्यक निर्णय लिनको लागि हेडक्वार्टर गठन गरिएको हो ।

पार्टीभित्र शक्ति विकेन्द्रित गरिनुपर्ने विषयमा शीर्ष नेताहरूबीच कुरा नमिलेका कारण जसपामा विवाद बढ्दै गएको थियो । त्यो विवाद पार्टी विभाजनतर्फ उन्मुख भएपछि अध्यक्ष यादवले यस किसिमको संरचना बनाउन मौखिक सहमति गर्नुभएको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने खालको अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारहतार एकता भई जसपा गठन भएको थियो ।

सो अध्यादेशले समाजवादी पार्टी विभाजन हुने खतराका कारण सोही पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईको जोडबलमा एकता भएको थियो । तर, ओलीको ‘प्रतिगमन’ बढ्दै जाँदा यादव–भट्टराई प्रतिवादमा उत्रिनुभयो भने जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीको सहयोगी बन्न थाल्नुभयोे । जसले पार्टीभित्र द्वैध सत्ता सञ्चालन हुन थाल्यो । परिणामतः गत भदौमा जसपा विभाजन भयो । ठाकुर–महतो पक्षले लोसपा गठन गरे ।

महन्थ पक्ष निस्किएपछि जसपाभित्रको विवाद साम्य हुने ठानिएको थियो । तर, यादव एकलौटी ढंगले अघि बढ्न थालेको भट्टराई-राई पक्षको बुझाइ छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा आइसकेपछि यादवले आफू पक्षका नेताहरूलाई मन्त्रिपरिषद्मा पठाएपछि पार्टीभित्र विवाद पनि चर्कियो । पार्टीमा आफू विरुद्धको माहोल बनेपछि अध्यक्ष यादवमाथि सबैलाई समेट्ने गरी अगाडि बढ्नुपर्ने बाध्यता आएको हो ।

स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन यादवको निर्देशन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । यसका लागि महŒवपूर्ण भूमिका खेल्न उहाँको निर्देशन छ । पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सोमबार बसेको पार्टीका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा प्रभावकारी बनाउन महŒवपूर्ण भूमिका खेल्न अध्यक्ष यादवले निर्देशन दिनुभएको हो ।

प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने यादवले बताउनुभयो । उहाँले गाउँ, नगर, वडालगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । वैशाख ३० गतेसम्मका लागि उक्त अभियान गर्ने र त्यसपछि फेरि नयाँ निर्णय गर्ने भन्दै उहाँले पार्टीलाई स्थापित गर्नका लागि पनि स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको थियो ।