स्थानीय चुनाव माओवादीका लागि लडाइँजस्तै हो – प्रचण्ड

काठमाडौं   –    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले परिवर्तनको वाहक माओवादीलाई सिध्याउन प्रयास जारी रहेकाले आगामी स्थानीय चुनाव आफ्नो पार्टीका लागि लडाइँजस्तै भएको बताएका छन् ।

सोमबार धनगढीमा भएको राजनैतिक वैचारिक प्रशिक्षणमा बोल्दै उनले गठबन्धन हुन्छ भन्ने कुरालाई दिमागबाट हटाएर आफ्नै नीति, कार्यक्रमका आधारमा जित्ने गरी चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘यो चुनाव सामान्य चुनाव होइन’ उनले भने, संविधान, सङ्घीयता, गणतन्त्र उल्टाउन खोज्ने देशी–विदेशी शक्तिले माओवादीलाई सिध्याउन खोजेका छन् । त्यसैले जनताका बीचमा दुई महिना खटेर जित हासिल गर्नुपर्छ,’

अध्यक्ष प्रचण्डले भने, जनता, शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गता भएकाहरूको बीचमा गएर आत्मसमीक्षा गर्नुस्, विगतका गल्ती अब दोहोरिन दिन्नौँ भन्नुस् । त्यसले हामीलाई चुनाव जिताउनेछ । चुनावी तालमेल भए गठबन्धनकै दलसित हुन्छ, नभए एक्लै लड्नुपर्छ ।’