माओवादी केन्द्र कसैको बुई चढेर आएको होइनः दीनानाथ शर्मा

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्नै बलबुतामा चुनाव लड्ने तागत पार्टीसँग रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “माओवादी केन्द्र कसैको बुई चढेर राजनीतिमा आएको हैन, बरु माओवादीको बुई चढेर अरु आकाशमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र मिल्न सक्ने शक्तिसँग मिल्छ, नमिल्दा आफ्नै ताकत र बलबुतामा लड्न तयार छौं ।”

माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जबर्जस्ती गठबन्धनमा ल्याउन चाहेको नभई कांग्रेसले नै गठबन्धन गर्न चाहेको दाबी पनि उनले गरे । शर्माले थपे, “हामीले गठबन्धन चाहिन्छ भनेका होइनौं, बरु प्रधानमन्त्री शेरबहादुर देउवाले नै संघीय चुनावसम्म गठबन्धन रहन्छ भन्नुभएको छ । कांग्रेसभित्रका केही साथीहरुले मतभिन्नता राख्न गठबन्धन नगर्ने भन्नुभएको होला । एउटा हातले ताली त बज्दैन नि ।”

संविधानले नै सहमति र सहकार्यमा जोड दिएकाले गठबन्धन अपरिहार्य रहेको उनले औंल्याए । उनले भने, “नेपालको संविधानले नै सहमति र सहकार्यको संस्कृति अघि बढाउन जोड दिएको छ । अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत सिद्ध गर्न सक्दैन । गठबन्धन गरेकै कारण अघिल्लो निर्वाचनमा वामपन्थीकै सहयोग र समर्थनमा बहुमत ल्याएका हौं । गठबन्धन एकपक्षीय रुपमा हुँदैन । कहाँ कहाँ गठबन्धन गर्ने अहिले टुंगो लागेको छैन । दुई महिनापछि सबै कुरा थाहा भइहाल्छ नि ।”

चिनियाँ विदेशमन्त्री माओवादी केन्द्रको चाहनामा भन्दा पनि नेपाल सरकारको निम्तोमा आउन लागेको उनले बताए । उनले भने, “कुनै पार्टी मिलाउन वा फुटाउन विदेशमन्त्री आउँदैनन् । छिमेकी देशका विदेशमन्त्रीको नियमित सद्भावना भ्रमण हो । यो भ्रमण माओवादीको चाहनामा भएको होइन । सरकारले दिएको निम्तोमा हुन लागेको हो ।”

एमसीसी माओवादीको आलोचनात्मक समर्थन रहेको र पार्टीभित्र यसको विवाद नरहेको जिकिर उनले गरे । शर्माले भने, “सुरुमा छलफल भएर आएको भए हुन्थ्यो । हामीले आलोचनात्मक समर्थन गरेका हौं । पार्टीभित्र एमसीसीको समस्या छैन ।” नेता शर्माले माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको आएकाले त्यसमा नजरअन्दाज नगर्न चेतावनी दिए । उनले भने,” अब निराशामात्र होइन, आशा पनि बाँड्नुपर्छ । परिवर्तन भएको छ तर जनताको अपेक्षा अनुसार परिवर्तन नभएको मात्र हो ।”