‘अभिव्यक्ति स्वतन्त्रता नै लोकतान्त्रिक समाजको मुख्य सूचक हो’

३४ वर्षअघि रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’पछि राजेश हमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । करिअरको यो विन्दुसम्म आइपुग्दा पनि हमाल नेपाली फिल्मको ट्रयाकमा बुर्कुसी मार्दैछन् ।मोडल बन्न कुनै बेला मुम्बई हानिएको राजु नामक ठिटोले कसरी देश फर्किएर राजेश हमालमा आफूलाई बदल्यो ? कसरी ऊ ‘महानायक’ कहलियो ? कसरी उसले ‘स्टारडम’ को मानक खडा गर्‍यो ? यी प्रश्नको जवाफ निकै रोचक लाग्छन् ।

हालैको एक साँझ राजेश आफ्नो चर्चित अखडा ‘लन्डन क्याफे’ मा अनलाइनखबरसँग गफिए— युट्यूब, प्रकाश सपुतको नयाँ गीत, काठमाडौंको मेयर, गायन, कोभिड महामारी, स्टारडम, फिल्म निर्देशन, रूस–युक्रेन युद्ध र आउने समयको बारेमा । प्रस्तुत छ अनलाइनखबरका लागि विष्णु शर्माले महानायक राजेश हमालसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा युट्यूब प्रयोगलाई लिएर सरकारले कडाइ गरिरहँदा र चौतर्फी बहस भैरहँदा तपाईंले सोही ‘प्लाटफर्म ज्वाइन’ गर्नुभएको छ, किन ?पहिलेदेखि नै युट्यूब गर्छु भन्ने योजना थियो । यतिबेला संयोगवश डेब्यु भएको मात्र हो । आफ्नो सोचाइ र भोगाइलाई समेटेर ‘प्लाटफर्म’ उपयोग गरौं भनेर हो । अहिलेको जमानामा नौलो कुरा पनि हैन । म अलिकति ढिलो आएँ, त्यही नै हो । के कस्तो सामग्रीबाट काम गर्ने भन्नेबारे पनि सोच्न सकिरहेको थिइनँ । संयोगवश अहिले यस्तो समयमा पर्‍यो । युट्यूब जस्ता ‘प्लाटफर्म’ भनेको त अभिव्यक्तिको माध्यम मात्रै हो । मेरो विचारमा त्यसले स्वतन्त्रता पाइरहनुपर्छ ।

युट्यूबले डिजिटल अनुशासन कायम नगरे कडाइ गर्नुपर्ने हुन्छ भन्ने सरकारको भनाइप्रति तपाईंको धारणा के छ ?यी त समयले लिएर आएका कुरा हुन् । समयले ल्याएका कुरालाई कसरी ‘च्यानलाइज’ गर्नुपर्छ भन्ने सरकार जिम्मेवारीमा हुन्छ । समयले ल्याएका परिवर्तनलाई प्रतिबन्धित गर्नुपर्छ भन्ने कुरा लोकतान्त्रिक माहोलमा उचित नहोला तर ‘च्यानलाइज’ कसरी गर्नुपर्छ भन्ने कुरा त आउँछ । कसैलाई केही असर पर्‍यो भनेर समयानुसार उपलब्ध प्रविधिलाई रोक्न सकिंदैन ।

जस्तो कि फिल्म हेर्न पहिले फिल्म हल नै जानुपथ्र्यो मान्छेलाई । अहिले मान्छेले हात–हातमा मोबाइल राखेर युट्यूब र एपमा हेर्न थाले जसकारण फिल्मलाई असर गर्‍यो भनेर बन्द गर्न त मिल्दैन । त्यो त समयले ल्याएको प्रविधि हो । हामी फिल्मकर्मीले पनि यही प्रविधिसँग हातेमालो गरेर कसरी अघि बढ्न सकिन्छ भनेर समन्वय गर्नुपर्छ । समयअनुसार त राजनीति, कला र समाज पनि ढल्नुपर्ने हुन्छ ।युट्यूबमा तपाईंले कस्ता कन्टेन्ट र कार्यक्रम ल्याउने तयारी गर्नुभएको छ ?सरल र मनोरञ्जनात्मक तरिकाबाट गहन विषयवस्तु पस्कने विचारमा छु । गहन विषयवस्तुलाई पनि मनोरञ्जनात्मक तरिकबाट पस्कन सकिन्छ भन्ने मलाई लाग्छ ।