आगामी निर्वाचनमा पनि सम्पूर्ण तागत लगाएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्छ

काठमाडौं ।    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो ।

विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उहाँले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उहाँले गत वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताउनुभयो ।

“हामीले गत वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुङ्कार’बाट पराजित ग¥यौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “आगामी निर्वाचनमा पनि सम्पूर्ण तागत लगाएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्छ ।”

आगामी निर्वाचनमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी मुलुकमा जस्तै ‘टु पार्टी सिष्टम’ लागू गर्ने षडयन्त्र भइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै निर्वाचन हाम्रा लागि सामान्य निर्वाचन मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एण्ड डेथ’को लडाईं भएर आएको छ ।”

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गत फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उहाँले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने निर्वाचन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्पूर्ण नेता अब पालिका केन्द्रित हुनुपर्ने बताउनुभयो ।