अभिनेत्री कट्रिनाको होली सेलिब्रेशन : पहिलो पटक देखियो पूरा कौशल परिवार

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफले बिहेपछिको पहिलो होली शुक्रबार आफ्नो ससुरालीमा मनाएकी छिन् ।

यस विशेष अवसरमा कट्रिनाले आफ्ना २ तस्विर सेयर गरेकी हुन् । यी तस्विरहरूमा कौशल परिवार गालामा रातो रंग लगाएर मुस्कुराएको अवस्थामा देखिन्छन् ।

पोस्टमा कट्रिनाले फ्यानलाई होलीको शुभकामना पनि दिएकी छिन् । घरको झ्यालबाट कट्रिना कैफले परिवारसहित होलीको तस्विर सेयर गरेकी हुन् । तस्विरमा पति विक्की कौशल, जेठाजु सन्नी कौशल, ससुरा श्याम कौशल र सासु वीणा कौशल पनि देखिएका छन् ।

पछिल्लो समय सासु र बुहारीको प्रेम सम्बन्ध निकै चर्चामा रहने गरेको छ । सासुले कट्रिनाको गालामा मायाले हात राखेर अबिर लगाइरहेकी छिन् । यो पूरा पारिवारिक तस्विर विक्की कौशलले कैद गरेका हुन् ।

कट्रिनासँगै विक्की कौशलले पनि यी तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले फ्यानहरुलाई होलीको शुभकामना समेत दिएका छन् । विशेष कुरा के हो भने कट्रिना र विक्कीको होली मनाएको तस्विर हेरेर फ्यानहरुले मायाको वर्षा गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्तो राम्रो परिवार । अन्य सेलिब्रेटी परिवारहरू जस्तै कुनै देखावट छैन ।’ अर्का एक प्रयोगकर्ताले कट्रिनाकी सासू वीणा कौशल बुहारीसँग कत्ति खुसी देखिन्छिन् भनेर प्रतिकृया जनाएका छन् ।

विक्की–कट्रिना होलीको एक दिन अघि अपूर्व मेहताको पार्टीमा पुगेका थिए । उनीहरु होलीको एक दिन अघि बिहीबार राति अपूर्व मेहताको ५० औं जन्मदिनको पार्टीमा पुगेका थिए । कट्रिना र विक्की विवाहपछि पहिलो पटक एक कार्यक्रममा सँगै गएका हुन् ।

यस क्रममा कट्रिनाले नीलो मिनी ड्रेसमा ग्ल्यामर थपिन् । विक्की कालो टक्सिडोमा देखिएका थिए । यो पार्टीको होस्ट करण जोहर थिए । जसमा आर्यन खान, गौरी खान, काजोल, अनन्या पाण्डे, जान्हवी कपुर र रकुलप्रीत सिंह लगायत धेरै सेलिब्रेटीहरु सहभागी थिए ।

गत वर्ष डिसेम्बरमा कट्रिना कैफ र विक्की कौशलको राजस्थानको सवाई माधोपुरमा भव्य विवाह भएको थियो ।