नेपालको बिर्सनलायक ब्याटिङ

बिर्सनलायक ब्याटिङ गरेको नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग ४८ रनले स्तब्ध हुँदा त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो हार बेहोरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ६९ रनको झीनो लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ प्रदर्शन गर्दै ३५.१ ओभरमा १ सय २० रनमै समेटिएपछि घरेलु टोली युएईलाई नतिजा सुम्पियो। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालको यो पहिलो हार हो।

पहिलो खेलमा भने नेपालले लिगको पुछारको टोली पपुवा न्युगिनीसँग संघर्षपूर्ण जित निकालेको थियो। एकदिवसीय क्रिकेटमा नेपाली टोली यस पटक पनि पूरै ओभर टिक्न सकेन। श्रीलंकाको स्थानीय टोलीसँगको चार अभ्यास खेलमध्ये एक खेलमा मात्र नेपालले पूरा ओभर खेलेको थियो।

यस पटक पनि नेपाल निर्धारित ओभरनिकट पनि ब्याटिङ गर्न असफल रह्यो। नेपालले ८.५ ओभरमा नै तीन विकेट गुमाउँदा भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउटको सिकार भए। ओपनरद्वय कुशल भुर्तेल ११ रन र आसिफ शेख ७ रनमै पवेलियन फर्किए।

त्यसपछि समालिने प्रयास गरेको नेपालका ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे। तर, युएईका रोहन मुस्तफाले ज्ञानेन्द्र मल्ललाई २८ रनमा एलबिडब्लु आउट गर्दै यो साझेदारी तोडे। थप ३ रन जोड्दा आशिफ शेख पनि खाता नखोल्दै पवेलियन फर्किए। त्यससँगै नेपाल २३.६ ओभरमा ८५/५ को अवस्था थियो।

त्यसपछि भने नेपालको इनिङ समालिन सकेन। नेपालले थप ३५ रन जोड्दा बाँकी पाँच विकेट नै गुमायो। एक छेउबाट रोहितले इनिङ समाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। जाहुर खानले रोहितलाई ४६ रनमा क्याच गराउँदै नेपाललाई छैटौं झड्का दिए।

६० बल खेलेका रोहितले चार चौका हिर्काए। त्यसपछि नेपाल ठूलो दबाबमा पर्‍यो र कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा नै रन बटुल्न सकेनन्। युएईको बलिङमा बसिल हमिदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिँदै नेपालको इनिङ धराशयी बनाएका थिए। मुस्तफा र खानको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईको निर्णय सही साबित हुन सकेन र घरेलु टोली ४६.३ ओभरमा १ सय ६८ रनमै समेटियो। एक समय १०.३ ओभरमा युएई ३५–४ को नाजुक अवस्थामा थियो। तर, पाँचौं विकेटका लागि रोहन मुस्तफा र चुन्दानगापोइल रिजवानले ७७ रनको साझेदारी गर्दै युएईको इनिङलाई सम्मानजनक इनिङतर्फ अग्रसर गराए। तर, नेपालका कप्तान सन्दीप लामिछानेले ३३.३ ओभरमा रिजवानलाई ४० रनमा आउट गराउँदै यो साझेदारी तोडे। मुस्तफा पनि छैटौं विकेटका रूपमा आउट भए।

उनी ४० रनमा आउट हुँदा युएई ३८.१ ओभरमा १३४/६ को अवस्थामा पुग्यो। त्यसपछि बसिलले १४ रन, कसिफ दाउदले १९ रन र कप्तान अहमद राजाले १३ रन बनाउँदा युएईले ढेड सयको आँकडा पार पर्‍यो। अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन भने सकेनन्। नेपालको बलिङमा सोमपाल कामीले चार तथा करण केसीले तीन विकेट लिँदा सन्दीप, दीपेन्द्रसिंह र सागर ढकालको नाममा १/१ विकेट रह्यो। यो हारसँगै नेपाल १० खेलबाट ५/५ जित र हारसहित १० अंकका साथ छैटौं स्थानमा यथावत् छ।

युएई १५ खेलमा आठ जित र पाँच हारसहित २० अंकका साथ दोस्रोमा र ओमान २८ खेलबाट १७ जित र ९ हारसहित ३६ अंक जोड्दै शीर्ष स्थानमा छन्। पपुवा न्युगिनी १४ खेलमा १४ मा नै हारका साथ पुछारमा छ। नेपालले सोमबार शृंखलामा युएईसँगै दोस्रो खेल खेल्नेछ।