झुत्रा नोटबाट आम्दानी गर्दै राष्ट्र बैंक

बञ्जाडे —      पैसाबाट बनेको ब्रिकेट बालेर आगो ताप्न चाहनुहुन्छ, त्यसो हो भने राष्ट्र बैंकले तपाईंको इच्छा गरिदिन्छ ।

नेपाल राष्ट्र बैंकले पुराना झुत्रा नोटबाट ब्रिकेट उत्पादन तथा बिक्री सुरु गरिसकेको छ । झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने चलन अन्त्य गर्दै राष्ट्र बैंकले त्यसबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको बताएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सातवटै प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले नोटबाट बनेका ब्रिकेट खरिद गर्न सक्नेछन् ।

नष्ट गर्ने चरणमा रहेका पुराना नोटबाट राष्ट्र बैंकले गत भदौदेखि ब्रिकेट बनाउन थालेको हो । कोभिडका कारण बीचका केही महिना यो क्रम बन्द रह्यो । अहिले गण्डकी प्रदेशबाहेक सबै प्रादेशिक र केन्द्रीय कार्यालयबाट नियमित रूपमा (सातामा शुक्रबार, शनिबार र बिदाका दिनबाहेक) ब्रिकेट बनाउने काम सुरु भएको छ । नोट धुलाउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले नयाँ प्रविधिमार्फत ब्रिकेट बनाउन सुरु गरिएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकले प्रतिवर्ष ४० देखि ४५ अर्ब रुपैयाँ बराबरका पुराना नोट नष्ट गर्दै आएको बताइएको छ ।

ब्रिकेट बनाउनकै लागि राष्ट्र बैंकले नेदरल्यान्ड्सबाट बैंक नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) खरिद गरेको हो । सातवटा प्रादेशिक र एउटा केन्द्रीय कार्यालयका लागि गरेर ८ वटा बीएसबीएस मेसिन किनिएको छ । राष्ट्र बैंकले प्रतिमेसिन ३ लाख ८१ हजार युरो (५ करोड रुपैयाँभन्दा बढी) का दरले करिब ५० करोड रुपैयाँ बराबरको मेसिन खरिद गरेर जडान पनि गरिसकेको छ ।

‘मेसिनलाई आवश्यक पर्नेभन्दा कम क्षमताको ट्रान्सफर्मर भएकाले गण्डकी प्रदेशमा मेसिन जडान गर्न सकिएको थिएन,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने, ‘हाल नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर परिवर्तन गरिदिएको छ । अब केही दिनमै ब्रिकेट बनाउने मेसिन जडान गर्छौं ।’ हरेक मेसिन प्रतिदिन ८ घण्टाका दरले चलाउन सकिने र हरेक दुई घण्टामा २ सय किलो ब्रिकेट उत्पादन हुने नेपालले जानकारी दिए । ‘चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदूषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकाले त्यसको विकल्पमा आम्दानीसमेत गर्न सकिने प्रविधि भित्र्याइएको हो,’ उनले भने, ‘भट्टीमा खरानी बनाउँदा वातावरण प्रभावित हुनुका साथै स्थानीयबाट प्रशस्त जनगुनासो पनि आउँथ्यो ।’ ब्रिकेटलाई इन्धनका रूपमा घर तथा उद्योगमा उपयोग गर्न सकिन्छ । सीप नभएका कामदारले पनि दुईचार दिनमा मेसिन चलाउन सिक्ने भएकाले त्यति धेरै दक्ष कर्मचारी आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ । ‘नियमित रूपमा मर्मतसम्भारका लागि करारमा एक जना मेकानिकल इन्जिनियर भर्ना गर्ने योजना बनाएका छौं,’ नेपालले थपे, ‘मेसिनका अवधि कम्तीमा १० वर्ष हुन्छ । मर्मतसम्भार गर्दै जाँदा १५/२० वर्ष सजिलै चलाउन सकिँदो रहेछ ।’

प्रतिदिन १४ सय किलो ब्रिकेट उत्पादन भइरहेको छ । हरेक कार्यालयबाट उत्पादित ब्रिकेट बिक्री पनि भइरहेको छ । ‘परीक्षणका रुपमा उत्पादन गरिरहेकाले सोही तबरले हरेक स्थानमा फरक फरक मूल्यमा बिक्री गरिरहेका छौं,’ नेपालले भने, ‘पूर्ण क्षमतामा उत्पादन गर्न थालेपछि घरायसी र औद्योगिक प्रयोगका लागि फरक/फरक मूल्यमा बिक्री गर्ने तयारी छ ।’ हाल इँटाभट्टा, कागज, प्लास्टिक उत्पादन गर्ने उद्योगबाट माग आइरहेको राष्ट्र बैंकले जनाएको छ ।

‘नोटबाट बनेको ब्रिकेटले ठूलो आगो (ज्वाला) दिँदो रहेनछ,’ स्रोतले भन्यो, ‘भुसको आगो सल्केजस्तो भित्रभित्रै बल्दो रहेछ । यसकारण ज्वालासहितको आगो चाहिने इँटा भट्टालगायत स्थानमा यो कम उपयोगी देखियो ।’ ब्रिकेट उत्पादन र बिक्रीविवरणका लागि राष्ट्र बैंकले छुट्टै कार्यविधि बनाउँदै छ । कार्यविधिमा घरायसी प्रयोजनका लागि प्रतिपरिवार २० किलो र औद्योगिक प्रयोगका लागि प्रतिउद्योग २ सय किलोका दरले बिक्री गर्ने प्रस्ताव गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको छ । पछिल्लो समयमा गत फागुन १३ मा राष्ट्र बैंकले विराटनगर कार्यालयमार्फत उक्त प्रविधिको शुभारम्भ गरेको थियो । उक्त मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्य्राएर ब्रिकेट तयार गर्छ । मेसिनमा दुईवटा खण्ड हुन्छन् । पहिलो खण्डले नोटलाई टुक्रयाउँछ र दोस्रोले टुक्रयाएको नोटबाट ब्रिकेट तयार गर्छ ।