के लाग्छ माओवादी कामरेडलाई?

कुरा सुरु गरौँ, हुम्लाका एकजना जुझारु माओवादी नेतासँग भएको कुराकानीबाट। माओवादी सशस्त्र विद्रोह चरमोत्कर्षमा पुगेको समय २०५६/५७ सालतिर शिक्षक पेसा परित्याग गरी उनी डब्लु. टि.(पूर्णकालीन) कार्यकर्ताका रूपमा माओवादी विद्रोहमा होमिएका रहेछन्।

उनी ज्यानको बाजी राखेर विद्रोहमा होमिनुका मुख्यतः दुईटा कारण थिए। जसमध्ये पहिलो, उनले भोग्दै आएको जातीय, सामाजिक, वर्गीय लगायतका विभेद र असमानताको पर्खाल जो विद्यमान थिए/छन्, त्यसलाई भत्काएर समानता, न्याय, समावेशिता, छुवाछूत र विभेदमुक्त समाज निर्माणको स्वर्णिम सपना नै थियो।

दोस्रो, बाध्यता थियो। माओवादी पार्टीको वैचारिकता बोकेर सामान्य जीवन जिउन उनलाई असुरक्षा महसुस भयो। ज्यान जोगाउनका लागि पनि उनले शिक्षण पेसा र घर परिवार त्यागेर भूमिगत जीवन अंगाल्न र विद्रोहमा होमिन बाध्य पारियो। अर्थात तत्कालीन राज्य पनि एक प्रमुख कारक हो जसले उनलाई विद्रोहको आगोमा जबर्जस्त धेकेल्यो।

चर्चित एमसिसीको तातो बहसको समयमा भेट भएको हुँदा उनी एमसिसीको पूर्णतः विपक्षमा मात्रै थिएनन्, त्यसविरुद्ध आक्रोशितसमेत थिए। उनको दृढ विश्वास थियो, अध्यक्ष पुष्पकमल दाहाल र उनको पार्टी माओवादी केन्द्रले कुनै पनि हालतमा एमसिसीको पक्षमा संसद्मा मत दिँदैनन्, अर्थात् उनका अध्यक्ष र पार्टी कुनै हालतमा एमसिसीको पक्षमा जानै सक्दैन। एमसिसी राष्ट्रघाती सम्झौता हो। कामरेडलाई यस्तो लाग्थ्यो।

पंक्तिकारले आफ्नो पूर्ववत् मान्यता पेस गर्‍यो- ‘ तपाईहरूले लडेको क्रान्ति जनयुद्ध थिएन र होइन। त्यो एउटा सशस्त्र विद्रोह मात्रै थियो।’ त्यस्तै तपाईको पार्टीका कारण गणतन्त्र आएको होइन। अर्थात ‘माओवादीले गणतन्त्रका लागि विद्रोह गरेको कुरा यथार्थ होइन।’ र ‘तपाईँहरूको क्रान्ति जातीय मुक्तिको संघर्ष थिएन।’ यति कुरा सुनिसकेपछि कामरेडको आक्रोश दाङ घोराहीको चढ्दो गर्मीलाई उछिनेर ‘प्रचण्ड’ बन्न थालिसकेको सहजै महसुस गर्न सकिन्थ्यो।

माओवादी कामरेडका विभ्रमः    मिर्जा गालिबको एक बहुचर्चित सायरी छ- ‘उम्र भर हम यही गलती करते रहे…. धूल चेहेरे पे थी और हम आईना साफ करते रहे…।’ अहिले कलाकार प्रकाश सपुतको ‘पिर’ गीतको भिडियोका कारण माओवादी केन्द्रका कामरेडहरूको अमनचयन भंग भएको छ। हाल दुई लाइनमा माओवादी नेता कार्यकर्ता विभाजित भएका छन्।

एक- सत्ता र शक्तिको वरिपरि रहेका ‘तरमारा’ माओवादी र दोस्रो, बहिर्गमित तथा सत्ता, शक्ति र सम्पत्तिबिहीन आस्थाका माओवादी। सत्ता, शक्ति र सम्पत्तिमा रमाइरहेका कामरेडहरूलाई सपुतको गीत र भिडियोले विक्षिप्त बनाएको छ। गालिबको उपर्युक्त सायरी उनीहरूलाई ठ्याक्कै मिल्न पुगेको भान हुन्छ। यथार्थ चित्रण गर्नेलाई धम्की दिनुभन्दा आफ्ना गल्ती, कमजोरी महसुस गरी सुधार्ने प्रयासमा लाग्नु नै माओवादीका हितमा हुनेछ।

माओवादीको सशस्त्र विद्रोह ‘जनयुद्ध’ होइन, जनैयुद्ध र सत्तायुद्ध मात्रै थियो। यो तथ्यलाई विभिन्न तर्कद्वारा पुष्टि गर्न सकिन्छ। पहिलो तर्क– २०५२ साल फागुन १ गतेबाट नेकपा (माओवादी) ले घोषितरूपमा सुरुवात गरी एक दशकसम्म सञ्चालन गरेको सशस्त्र क्रान्तिमा जनता स्वतःस्फूर्त होमिएका थिएनन्। माथि उल्लिखित शिक्षकको प्रसंगमा झैँ आस्थाकै कारण राज्यद्वारा मारिने भयले, डर, प्रलोभन, बाध्यताका कारण अधिकांश मानिस विद्रोहमा सामेल बनेका थिए।

त्यसैले गुण र प्रकृति हेर्दा नै त्यो जनविद्रोह वा जनयुद्ध बन्न सकेको थिएन। दोस्रो तथा महत्वपूर्ण तर्क– २०६२ साल मंसिर ७ गते सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच भएको १२ बुँदे समझदारीमा ‘जनयुद्ध’ शब्द छैन। २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ‘जनयुद्ध’ शब्द छैन।

२०६३ साल माघ १ गते जारी नेपालको अन्तरिम संविधानमा जनयुद्ध शब्द राखिएन। त्यस्तै नेपालको संविधान, २०७२ मा समेत जनयुद्ध शब्द छैन। नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले जनयुद्ध शब्द प्रयोग गर्नु र गौरवान्वित हुनु स्वाभाविक भए तापनि यी तथ्य र तथ्यलाई प्रमाणित गर्ने तर्कहरूले माओवादीको शीर्ष नेतृत्वले नै सशस्त्र क्रान्तिलाई यथार्थमा ‘जनयुद्ध’ स्वीकार नगरेको ठहर्छ। यी तथ्य र तर्कहरूका सम्बन्धमा कामरेडलाई के लाग्छ?

जातीय विद्रोह थिएन :   माओवादी सशस्त्र विद्रोहको नेतृत्वमा सुरुवातदेखि नै पहाडे बाहुन, पुरुष र हिन्दु रहे। २०५२ सालमा पुष्पकमल दाहाल नेतृत्वमा १९ सदस्यीय केन्द्रीय कमिटी बन्यो जसले सशस्त्र विद्रोहको सुरुवात गर्‍यो। जसमध्ये पम्फा भुसाल १ जना महिलाबाहेक केन्द्रीय कमिटीमा दलित शून्य रह्यो। विद्रोह सुरु गरेको ५ वर्षपश्चात २०५७ सालमा बल्ल खड्गबहादुर विश्वकर्मालाई माओवादीले केन्द्रीय कमिटीमा ल्यायो।

समग्रमा माओवादी विद्रोहको नेतृत्व दाहाल, मोहन वैद्य (पोखरेल), बाबुराम भट्टराई, सिपी गजुरेल आदि बाहुनहरूको नेतृत्वमा चलाइयो। क्रान्तिकाल र शान्ति स्थापनापश्चात माओवादीको राजनीतिक दस्तावेजहरू अवलोकन गर्दा जातीय मुक्तिलाई प्रधान मानेको कुनै उदाहरण छैनन्। विद्रोहको समयमा माओवादी पार्टी समावेशी समेत थिएन।

विगत डेढ दशकमा माओवादी नेतृत्वका तीनटा संघीय सरकार बने तर दलित लगायत उत्पीडित समुदायलाई महत्वपूर्ण जिम्मेवारी दिन चाहेन। त्यतिमात्रै होइन, नीति निर्माणमा समेत जातीय विभेदविरुद्ध माओवादीले ठोस कुनै काम गरेको छैन। दलित, मधेसी, महिला आदि उत्पीडित समुदायलाई पदाधिकारीमा कहिल्यै अवसर दिइएन।

सपुतको गीत र अन्य प्रसंगमा माओवादी तथा दलका नेताहरूमाथि आलोचना गरिँदा हामीमाथि आरोप लगाइने गरिन्छ, आज माओवादी विद्रोहकै कारण दलित-उत्पीडित समुदायले बोल्न पाए। कामरेडहरूलाई के लाग्छ : माओवादीका कारण मात्रै हामीले बोल्न, लेख्न, हाँस्न पाएका हौँ? माओवादीका प्रथम सहिद गोरखाका दिलबहादुर रम्तेल (दलित) हुन्।

नेतृत्वमा नपुर्‍याइएको भए तापनि दलित उत्पीडित समुदायले ठूलो संख्यामा रगत बगाएका, जीवन आहुति दिएर बलिदानी दिएका छन्। बरु उनीहरूको योगदानबमोजिम समानता, समावेशिता र न्याय पाउन सकेका छैनन्। विद्रोहको आधार क्षेत्रहरूमा सबैभन्दा बढी जातीय छुवाछूत, विभेद र जातकै कारण हत्या समेत भएका छन्। गत वर्ष मात्रै रुकुम नरसंहार काण्ड भयो। नवराज बिकलगायत ९ जना युवालाई अन्तरजातीय प्रेमका कारण कुटीकुटी मारियो र भेरीमा बगाइयो।

ज्ञातव्य रहोस्, रुकुमका जनप्रतिनिधि हाल नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा हुन् र हामीले झुलेका छैनौँ, नवराज बिक लगायतको नरसंहारलाई ढाकछोप गरी दोषीलाई उम्काउन उनले संसद्मा नै झुटो प्रतिवेदन पेस गरेका थिए। माओवादी विद्रोह जातीय मुक्तिका निम्ति थियो भने कालीकोटकी दलित महिला वडा सदस्य मना सार्की जातकै कारण मारिनु पर्दैनथ्यो।

के माओवादीले सरकार, संसद् र अन्य क्षेत्रमा उत्पीडित समुदायलाई प्राथमिकता दियो? दलितका निम्ति लडेको माओवादीले दुई जना बाहुन दाहाल र भट्टराईलाई मात्रै प्रधानमन्त्री किन बनायो? पार्टीले सभामुख, गृह, अर्थ, परराष्ट्र, शिक्षा आदि मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्रीहरूमा अवसर पाउँदा दलित लगायत उत्पीडित समुदायलाई प्रमुख प्राथमिकता दियो? अझै पनि कामरेडहरूलाई के लाग्छ, माओवादी विद्रोहले हामीलाई शासक बनायो? बनाएन र बनाउँदैन।

संघर्षको नीति र नेतृत्व :    नेकपा (माओवादी) माक्र्सवाद, लेनिनवाद, माओ विचार, विश्व कम्युनिस्ट विचारधारा बोक्ने पार्टी हो। उसको सिद्धान्त, विचार वर्ग संघर्षको मान्यतालाई प्रमुख मान्छ। खासमा विश्व कम्युनिस्ट अर्थात शास्त्रीय कम्युनिस्टहरू वर्ग संघर्षलाई मुख्य मान्छन्। सर्वहारा वर्गको मुक्ति, मजदूर र मालिकबीचको समानतालाई प्रमुख लक्ष्य बनाइएको हुन्छ।

त्यसैबमोजिम माओवादीले सशस्त्र विद्रोह, बल प्रयोगको सिद्धान्तलाई व्यवहारमा लागु गर्‍यो तर भारत, नेपाललगायत हिन्दु धार्मिक राजनीतिद्वारा सिर्जित वर्ण व्यवस्थामा आधारित विभेदयुक्त समाजमा वर्ग संघर्ष या मार्क्सवादी व्यवस्था काम छैन। जन्मले ठूलो जात, सानो जात र छूत, अछूत हुने व्यवस्था रहेको मुलुकमा कम्युनिस्ट विद्रोहको औचित्य नरहेको स्वयं कामरेडहरूले नै पुष्टि गर्दै आएका छन्।

कामरेडहरूलाई यस्तो लाग्थ्यो, दाहाल बाहुन भए पनि अरू जस्ता बाहुन हैनन्। अब देश, उत्पीडित समुदाय सबै प्रष्ट भए होलान्, दाहाल कस्ता बाहुन रहेछन्? अन्तमा, माओवादी विद्रोह, गणतन्त्रका निम्ति थिएन भन्ने पुरानै तर्कहरू स्मरण गराउँदै लेखको बिट मारौँ। पहिलो तर्क–शास्त्रीय कम्युनिस्टहरू जनवादी गणतन्त्रका हिमायती हुन्छन्।

अर्थात एउटा कम्युनिस्ट पार्टीको अधिनायकवाद वा निरंकुशतन्त्र उनीहरूको लक्ष्य हो। त्यसैका निम्ति माओवादीले मान्छे मार्ने विद्रोह सञ्चालन गरेको हो। बहुदलीय संसदीय गणतान्त्रिक लोकतन्त्र उनीहरूको उद्देश्य र लक्ष्य होइन। दोस्रो तर्क–७ राजनीतिक दलसँग १२ बुँदे सम्झौता गरी दरबारविरुद्ध लाग्नुअगावै माओवादी नेतृत्वले तत्कालीन राजा, राजपरिवार, राजाका आसेपासेहरूसँग वार्ता गरी दरबारसँग मिलेर लोकतन्त्रवादी दलहरूविरुद्ध षडयन्त्र गर्ने प्रयास गरेको विभिन्न स्रोत, माध्यमले पुष्टि गरिसकेका छन्।

अर्थात दरबारसँग विशेष कारणले सहकार्य बन्न नसकेपछि मात्रै बाध्य भएर दलहरूसँग सम्झौता गर्न र गणतन्त्र, लोकतन्त्र स्थापनामा माओवादी अग्रसर बनेको हो। माओवादीले विद्रोहको समयमा कांग्रेस, एमालेका कार्यकर्ताको हत्या गर्ने, सताउने गरे तापनि दरबारियाहरू उनीहरूको निशानामा नपर्नुले पनि यो तर्कलाई बल पुर्‍याउने स्पष्ट छ।

गणतन्त्र माओवादीलगायत कांग्रेस, एमाले र तत्कालीन संविधानसभामा गणतन्त्रको पक्षमा मतदान गर्ने सबै शक्तिको अजेन्डा हो। यति भनिसकेपछि कामरेडहरूलाई पंक्तिकारमाथि रिस उठ्ने, आक्रोशित हुने, गम्भीर षडयन्त्र जस्तो लाग्ने र परिचालितको आरोप लागाउनेबाहेक अन्य के लाग्छ? भन्नूस्, कामरेडलाई के लाग्छ?