युक्रेनमा बच्चालाई बचाउनको लागि आमाले थुप्रै गोली आफ्नो शरीरले छेकिन्

काठमाडौं। भनिन्छ संसारमा सबै कुराको मूल्य हुन्छ तर आमाको ममता भने अनमोल हुन्छ । निकै कठिन परिस्थितिमा आमाको त्याग र बलिदानले संसार आश्चर्यमा परेको छ । आमाले आफ्नो ज्यान दिएर पनि बच्चाको रक्षा गर्छिन् । यही कारण आमालाई भगवानको दर्जा दिइएको छ । आमाको ममताको अस्तै अनुपम उदाहरण युद्धग्रस्त युक्रेनमा देखिएको छ ।

युक्रेनको राजधानी किभमा गोलीबारीको क्रममा एक आमाले आफ्नी एक महिनाकी छोरीलाई आफ्नो शरीरले छेकेर बचाइन् । यस क्रममा उनलाई कैयौं गोली लाग्यो र उनी गम्भीर अवस्थामा अस्पतालमा छिन् । महिलालाई थुप्रै गोली लागेका छन् तर बच्चालाई केही पनि नोक्सानी भएको छैन । अस्पतालमा महिला र उनका पतिको शल्यक्रिया गरेर गोली निकालिएको छ । उनका पति पनि घाइते भएका थिए ।

युक्रेनमा आक्रमणपछि त्यहाँ भागाभागको स्थिति छ । ठूलो संख्यामा मानिसहरु देश छाडेर बाहिरिएका छन् । संयुक्त राष्ट्रसंघको माइग्रेसन एजेन्सीका अनुसार करिब ६५ लाख जनता विस्थापित भएका छन् । १ लाख २० हजारभन्दा धेरै युद्ध प्रभावित क्षेत्रमा फसेका छन् ।