श्रीमतीसंग बदला लिन ४ जना नक्कली प्रहरी ससुराली पठाउँदा !

काठमाडौ । एक जना श्रीमानले रिसाएर माइत बसेकी श्रीमतीसंग बदला लिन गलत बाटो अपनाउँदा आफै फसेका छन् । संखुवासभाको खाँदबारीमा यस्तो घटना भएको हो । सो नगरपालिका वडा नम्बर ८ स्थित माइती घरमा बसेकी श्रीमतीसंग बदला लिन जव श्रीमानले नक्कली प्रहरी ससुराली पठाए, घटना त्यहीँवाट सुरु भयो । गत फागुन २७ गते राति ११ बजेतिर चार जना ‘प्रहरी’ प्रमिला कम्मर सार्कीलाई भेट्न पुगेका थिए । उनीहरु नक्कली प्रहरी थिए । उनीहरुले प्रमिलालाई उनका श्रीमानको मृत्यु भएको खबर सुनाए र तुरुन्तै हिड्नुस् भने ।

उनी माघ अन्तिमतिरै ललितपुरस्थित डेरामा श्रीमानलाई छोडेर माइत गएकी थिइन् । श्रीमानले देह त्याग गरेको भनेर प्रहरीले सुनाएपछि उनी तत्काल ललितपुरतिर हिडिन् । माइती घरबाट करिब १०० मिटर पर जंगलमा पुगेपछि उनले श्रीमानलाई देखिन् । उनी त जिवितै थिए ।

आफूलाई नसोधी माइत आएका कारण रिसाएका रमेशकुमारले श्रीमतीसंग बदला लिन यस्तो उपाय अपनाएका थिए । जब जंगलमा श्रीमतीलाई फेला पारे उनले प्रमिलाको घाँटीमा डोरीले कसेर हात पात गर्न थाले । तँलाई यहिँ मा र्छु भन्दै भकुरे । तर उनी कसोकसो गरेर त्यहाँवाट फुत्किइन् ।

फागुन २८ गते उनले संखुवासभा जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दिइन् । उनले दिएको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान ३४ वर्षीय रमेशकुमार तामाङसहित घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्ति हुन् नक्कली प्रहरी बनेर गएका संखुवासभाकै पाँचखपन नगरपालिका–४ घर भई तुम्लिङटार बस्ने वर्ष ३० का अर्जुन तामाङ हुन् ।

प्रहरीले अन्य तीन जनाको पनि खोजी जारी राखेको जनाएको छ । संखुवासभा पाँचखपन नगरपालिका ४ होक्सेका रमेशकुमार तामाङ र संखुवासभकै खाँदबारी नगरपालिका–८ की प्रमिला कम्मर सार्कीबीच २०७२ सालमा प्रेम विवाह भएको हो।