मकवानपुरमा २०६४ सालको सफलता दोहोर्‍याउन माओवादीलाई कति सहज ?

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको ‘लालकिल्ला’ रहेको मकवानपुरमा पछिल्लो समयमा एमालेको वर्चस्व छ । यी दुई कम्युनिस्ट घटकबीच मकवानपुरमा कसले लाल किल्लाको झण्डा फहराउने भन्नेमा एक प्रकारको होड नै देखिन्छ ।

२०७४ सालको निर्वाचनपछि केही वर्ष यी दुवै पार्टी मिलेर एउटै पार्टी बन्यो । तर सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएसँगै अहिले फेरि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा छन् । त्यसैले मकवानपुरमा यी दुवै पार्टीबीच फेरि ‘लाल किल्ला’ को प्रतिस्पर्धा हुने हो या दुवैको पकड गुम्ने हो भन्नेबारे अहिले नै टिप्पणी गर्न कठिन छ ।

२०६४ सालमा माओवादी केन्द्रको सफलता

२०६२/०६३ को जनआन्दोलनपछि शान्ति सम्झौता, गणतन्त्र स्थापनासँगै सशस्त्र द्वन्द्व त्यागेर माओवादी केन्द्र मूलधारको राजनीतिमा सामेल भएसँगै २०६४ सालमा संविधानसभाको निर्वाचनमा भयो ।

सो निर्वाचनमा मकवानपुरको ४ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारे । उक्त निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दिलबहादुर घिसिङ ‘फूर्वा’, क्षेत्र नम्बर २ बाट प्रेमबहादुर पुलामी ‘छिन्तु’, क्षेत्र नम्बर ३ बाट प्रल्हाद लामिछाने ‘समिर’ र क्षेत्र नम्बर ४ बाट कुमारी मोक्तान विजयी भएका थिए ।

सो निर्वाचनमा क्षेत्र नम्बर १ का माओवादी केन्द्रका उम्मेदवार ‘फूर्वा’ले करिव २१ हजार मत ल्याउँदै नेकपा एमालेका बद्री लम्साललाई पराजित गरेका थिए भने काँग्रेसका ‘इलेक्शन म्यान’ मानिने इन्द्रबहादुर बानियाँ तेस्रो भए । त्यस्तै क्षेत्र नम्बर २ का माओवादी केन्द्रका उम्मेदवार ‘छिन्तु’ करिव १२ हजार मतसहित विजयी हुँदा नेकपा एमालेका वीरबहादुर लामा दोस्रो स्थानमा रहे ।

यता क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार ‘समिर’ले करिव १९ हजार मत पाएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले करिव १४ हजार मत पाएका थिए ।

क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तानले करिव १४ हजार मत पाएर जित हात पारेकी थिइन् । उनले नेकपा एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेकी थिइन् ।

मकवानपुरको तत्कालीन ४ क्षेत्रमा आफ्नो झण्डा फहराए झै सो निर्वाचनमा माओवादीले देशव्यापी सफलता हासिल गरेको थियो । संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी केन्द्र जनमतबाटै पहिलो शक्ति बन्यो । संसद्को ठुलो दल भएकाले सरकारको नेतृत्व पनि माओवादी केन्द्र कै हातमा पर्‍यो । तर, विडम्बना, माओवादी केन्द्र संसदीय अभ्यास र सत्ता सञ्चालनमा कमजोर साबित भयो र सरकारबाट पनि बाहिरिन बाध्य भयो ।

जनताको अपेक्षा अनुरुप काम हुन नसकेपछि मतदातामा माओवादीप्रति निराशा उत्पन्न हुन थाल्यो । माओवादी केन्द्रबाट देश र जनताको अवस्था बदलिने जनताको अपेक्षा केवल अपेक्षामै सीमित भयो ।

पछिल्लो समय नेपालको सर्वहारा श्रमजिवी जनताको आशा र भरोसाको मुख्य सारथि माओवादी केन्द्र कमजोर बन्दै गएको छ । जनताको मन र मत जित्न नसक्दा हाल माओवादी केन्द्र सांगठानिक रुपले पनि कमजोर अवस्थामा छ ।

२०६४ मा पाएको माओवादी केन्द्रले पाएको जनमतमा दोस्रो संविधानसभा निर्वाचनमा नै ठुलो ह्रास देखियो भने जनयुद्धको विरासत बोकेका मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतका नेता–कार्यकर्ता सो पार्टीबाटै बाहिरिए ।

नीति तथा कार्यदिशामा मतभेद हुनाले ०६९ सालबाट पार्टी विभाजन सुरु भयो । मकवानपुरमा पनि संविधानसभा सदस्य मोक्तानको नेतृत्वमा पार्टी विभाजन भयो । उनको नेतृत्वमा ‘फूर्वा’ लगायतका नेताहरु क्रान्तिकारी माओवादीमा आवद्ध भए ।

यो विभाजनले माओवादी पनि अन्य पार्टीजस्तै त रहेछ भन्ने भावना जनमानसमा विकास हुन थाल्यो । त्यसको परिणाम २०७० को निर्वाचनमा देशभर स्पष्ट देखियो । मकवानपुर पनि त्यसको असरबाट अछुतो रहेन ।

क्रान्तिकारी माओवादीमा आवद्ध रहेका मकवानपुरका २ जना संविधानसभा सदस्य मोक्तान र ‘फूर्वा’ सहितका नेताहरुले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरे । जसका कारण मकवानपुरमा माओवादी केन्द्रले अनपेक्षित हार व्यहोर्नु पर्‍यो ।

दोस्रो संविधानसभामा मकवानपुरमा नराम्रो पराजय

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुरबाट माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भए । विभाजन र अघिल्लो कार्यकालमा काम गर्न नसकेका कारण मकवानपुरका चारै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले नराम्रो पराजय व्यहोर्नु परेको थियो ।

क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रबाट उम्मेदवार रहेका सर्केश घलान ‘मधु’ले ८ हजार मत कटाउन सकेनन् । उनलाई नेपाली काँग्रेसका ‘इलेक्सन म्यान’ इन्द्र बहादुर बानियाँले पराजित गरे ।

यता क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले जित हात पार्ने दाउसहित आफ्नो ‘हेभीवेट’ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । श्रेष्ठले करिव १३ हजार मत पाएका थिए । तर, जितका लागि त्यो पर्याप्त भएन । उनलाई एमालेका सुभाषचन्द्र ठकुरीले पराजित गरे ।

यस्तै, क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले पुनः समिरलाई नै उम्मेदवार बनाएको थियो । उनीसँग एमालेका अनन्त पौडेल प्रतिस्पर्धामा थिए । पौडेलले अघिल्लो निर्वाचनको हारको बदला लिए । करिव १४ हजार मत ल्याएर पौडेल विजयी हुँदा समिरले ९ हजार मत पनि कटाउन सकेनन् ।

यता क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार राजाराम स्याङ्तानले जित निकाले । उनले माओवादी केन्द्रका उम्मेदवार सोनाम सिं स्याङ्तान ‘विजय’लाई पराजित गरेका थिए । उक्त निर्वाचनमा विजयले ९ हजारको हाराहारीमा मत प्राप्त गरेका थिए ।

२०६४ मा माओवादी केन्द्रको लालकिल्लाको रुपमा रहेको मकवानपुर २०७० सम्म आइपुग्दा शून्य अवस्थामा पुग्यो । त्यसको २ वर्षमै देशमा नयाँ संविधान जारी भयो ।

लगत्तै नेकपा माओवादी केन्द्रका दोस्रो वरियताका नेता डा. बाबुराम भट्टराइले पार्टी विभाजन गरे । उनले माओवादी केन्द्र फुटाउँदै नयाँ शक्ति नेपाल पार्टी गठन गरे । त्यसको असर मकवानपुरमा पनि देखियो ।

संविधानसभा सदस्य समिर र दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका विजयसहित थुप्रै कार्यकर्ता माओवादी केन्द्रबाट नयाँ शक्तिमा आवद्ध भए ।

नयाँ संविधान जारी भएपछि देश संघीय संरचनामा गयो । देशमा तीन तहका सरकारका कायम भए । संघीय, प्रदेश र स्थानीय तह कामय भएपछि २०७४ सालमा तीनै तहको निर्वाचन पनि भयो ।

स्थानीय तहमा पनि मिलेन उल्लेख्य सफलता

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट माओवादी केन्द्रको सहभागिता उत्साहजनक रह्यो । मकवानपुरका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा काँग्रेससँग गठबन्धन गरेको थियो ।

काँग्रेससँग गठबन्धन गरेको २ मध्ये एक स्थानमा मात्र माओवादी केन्द्रलाई सफलता मिल्यो । जसमा थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका लवशेर विष्ट विजयी भए भने हेटौंडाको उपमेयरका उम्मेदवार बलराम बल एमालेकी मिना लामासँग पराजित भए ।

त्यस्तै सो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक गाउँपालिकामा जित हात पारेको थियो । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका सर्केश घलानले जितेका थिए भने उपाध्यक्षमा एमालेको उम्मेदवारले जितेकी थिइन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ पनि कमजोर उपस्थिति

२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रको अवस्था कमजोर देखियो । २०७४ मा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । गठबन्धन हुँदा पनि मकवानपुरमा नेकपा माओवादीको स्थान तेस्रोमा सीमित भयो । मकवानपुरमा पहिलो शक्तिको रुपमा एमाले बन्यो भने काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बन्यो ।

यता प्रदेशसभातर्फको ४ वटा निर्वाचन क्षेत्रमध्ये एमाले माओवादी केन्द्र गठबन्धनका कारण २/२ वटा भाग लगाइयो । जसमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रदेशसभा क्षेत्र (ख)बाट एमालेका डोरमणि पौडेल, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा क्षेत्र नम्बर (क) बाट कुमारी मोक्तान र प्रदेशसभा क्षेत्र (ख) बाट एमालेका राजाराम स्याङ्तान उम्मेदवार बने । जसमा माओवादी केन्द्रका २ जना उम्मेदवार र एमालेका पौडेलले जिते भने स्याङ्तानले हार ब्यहोरे ।

मोओवादी केन्द्रका छिन्तुले २१ हजार ६२९ मत पाएका थिए । उनले काँग्रेसका धर्मराज लामिछानेलाई हराएका थिए । लामिछानेले १८ हजार ७७५ मत पाएका थिए । यता माओवादी केन्द्रकी उम्मेदवार मोक्तानले २७ हजार २४३ मतका साथ काँग्रेसका यतिराज सापकोटालाई पराजित गरिन् । सापकोटाले १४ हजार १२५ मत पाएका थिए । माओवादी केन्द्रका उम्मेदवारले बढी मत पाउनुमा एमालेसँगको गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको नेताहरुको भनाइ छ ।

यस्तो छ पछिल्लो अवस्था

हाल जनमानसमा माओवादी केन्द्रप्रति निराशा बढ्दै गएको पाइन्छ । जनताले माओवादी केन्दको विकल्प खोजिरहेको देखिन्छ । संगठन सुधारको अभियान सुरु गरे पनि माओवादी केन्द्रमा जनताको चासो देखिँदैन ।

माओवादी केन्द्रबाट अलग भएका केही नेताहरु पुनः पार्टीमा फर्काउन सफल भएको भनिए पनि आन्तरिक विवादका कारण अन्य केही जिल्लास्तरका नेता एमाले, काँग्रेस तथा अन्य दलमा आवद्ध हुनेक्रम बढ्दो छ ।

२०७४ को निर्वाचनमा मकवानपुरमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको अवस्थामा खासै सुधार भएको देखिँदैन । संगठन विस्तार तथा सुधारमा केही पहल भए पनि त्यसको प्रगति देखिएको छैन ।

माओवादी केन्द्रको आन्तरिक विवादका कारण पनि पार्टीको तल्लो तहसम्म समस्या देखिएको छ । आगामी निर्वाचनमा सफलता पाउन पनि माओवादी केन्द्रले पार्टीको आन्तरिक विवाद समाधानमा लाग्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा माओवादी केन्द्रले २०६४ सालमा झैं चमत्कार देखाउन सक्ला त भन्नेमा स्वाभाविक रुपमा आशंका उब्जिएको छ ।