म्यादी प्रहरीमा आवेदन दिनको भिड

काठमाण्डाै – म्यादी प्रहरीमा आवेदन दिनको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त भएको, साधारण लेखपढ गर्न जान्ने मापदण्ड तोकिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । छिमेकी देशका सुरक्षा निकायमा काम गरेका र विगतका चुनावमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेदेखि सुरु हुनेछ भने अन्तिम नतिजा २२ गते प्रकाशित हुनेछ । छनोट भएकाहरूको प्रशिक्षण चैत २८ चैतदेखि सुरु हुनेछ ।

म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आधारभूत तलब प्रहरी जवान सरह महिनाको २२ हजार ६ सय ८० रुपैयाँले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ हुनेछ । यसैगरी खाद्यान्नबापत एकमुस्ट ७ हजार २ सय रुपैयाँ तथा पोसाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइनेछ । तस्बिर : रासस