पश्चिमी देशमाथि रुसको जवाफी कारवाही, ५०० भन्दा धेरै विमान जफत गरिदिने

काठमाडौं। युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरुले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । कैयौं बहुराष्ट्रिय कम्पनीहरुले रुसमा कारोबार बन्द गरेका छन् र कैयौं देशले रुसी विमानहरुलाई आफ्नो देशको आकाशमा प्रतिबन्ध लगाएका छन् । रुसको अर्थव्यवस्थामा यसको निकै नकारात्मक असर परिरहेको छ । तर, केही मोर्चाहरुमा भने रुसलाई फाइदा पनि भएको छ र अमेरिका, बेलायत जस्ता देशहरुलाई भारी नोक्सानी भएको छ । रुसलाई फाइदा र पश्चिमी देशलाई नोक्सानी भएको एक क्षेत्र उड्डयन पनि हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै एक यस्तो प्रस्तावलाई मञ्जुरी दिएका छन् जसअनुसार पश्चिमी कम्पनीहरुलाई ठूलो नोक्सानी हुन सक्छ । यो प्रस्तावमा रुसले ती कम्पनीहरुको सम्पत्ति जफत गरेर राष्ट्रियकरण गर्न भनिएको छ जुन कम्पनीले रुसमा व्यापार बन्द गरेर गइरहेका छन् । रुसका एयरलाइन्स कम्पनीहरुसँग ५०० भन्दा धेरै यस्ता विमान छन् जो विदेशी कम्पनकिा हुन् र रुसी कम्पनीले तिनीहरुलाई भाडामा चलाइरहेका छन् । रुसले अब ती सबै विमानहरु जफत गरिदिन सक्छ जसबाट लिजमा दिने विदेशी कम्पनीहरुलाई १२ देखि १५ अर्ब डलर नोक्सानी हुन सक्छ ।

विमान लिजमा दिने सबैभन्दा ठूलो कम्पनी एयरक्यापलाई यसबाट सबैभन्दा धेरै नोक्सानी हुनेछ । यो कम्पनीका १ हजारभन्दा बढी विमान ८० देशमा लिजमा चलिरहेका छन् । यीमध्ये करिब १५० विमान रुसमा छन् । कन्सल्टेन्सी फर्क एसीसी एभिएसनका अनुसार यो कम्पनीलाई मात्रै २.५ अर्ब डलर नोक्सानी हुँदैछ । एयरक्यापको वेबसाइटमा उल्लेख भएअनुसार एयरोलोफ्ट, एस सेभेन एयरलाइन्स, रोसिया, अजुर एयर, उराल एयर जस्ता रुसी एयरलाइन्स कम्पनीहरुले उसका विमान लिजमा लिएका छन् । युरोपेली संघको प्रतिबन्धपछि यो कम्पनीले रुसी कम्पनीसँगको सम्झौता रद्द गर्ने घोषणा गरिसकेको छ ।

यस्तै आयरल्याण्डको अर्को कम्पनी एसएमबीसीका पनि कैयौं विमान लिजमा छन् । सिरियमको तथ्यांकअनुसार रुसमा अहिले ९८० एयरक्राफ्ट सेवामा छन् । यीमध्ये ७७७ विमान लिजमा ल्याइएका हुन् । लिजमा ल्याइएका मध्ये ५१५ विमान विदेशी कम्पनीका हुन् । यसरी लिजमा ल्याइएका मध्ये सिंगापुरको विमान कम्पनी एओसी एभिएसन र आयरल्याण्डको अभालोनका २०–२० विमान छन् । यी कम्पनीहरुलाई लिज समाप्त भएपछि आउने नियमित आयको नोक्सानीका साथै विमान फिर्ता नदिइँदा सम्पत्तिको नोक्सान पनि हुनेछ ।