कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो, इटालीमा २४ घण्टामै ७९३ काे मृत्यु

एजेन्सी ।    विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ३ पुगेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ४ हजार ९९९ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ९४ हजार ७९३ उपचारपछि घर फर्किएका छन् । अहिले १ लाख ९७ हजार २०३ जना कोरोना संक्रमित छन् । तीमध्ये ९ हजार ३८२ जना भने गम्भीर अवस्थामा छन् ।

इटालीमा २४ घण्टामै ७९३ काे मृत्यु

काेराेना भाइरसबाट इटालीमा सबैभन्दा धेरैकाे मृत्यु भएकाे छ । काेराेनाकाे उद्गम स्थल चीन भए तापनि चीनमा भन्दा इटालीमा १ हजार ५७० जना बढीले काेराेनाकाे संक्रमणबाट ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ भने चीनमा ३ हजार २५५ रहेको छ । अहिले काेराेनाबाट संक्रमितकाे संख्या पनि इटालीमै बढी छ । चीनमा अहिले ६ हजार १३ जनामा मात्रै काेराेनाकाे संक्रमण छ भने इटालीमा ४२ हजार ६४१ जना काेराेनाबाट संक्रमित छन् ।

पछिल्लो २४ घण्टामै इटालीमा ७९३ जनाको मृत्यु भएको छ भने ६ हजार ५५७ जना नयाँ संक्रमित भेटिएका छन् । केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट मर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ ।

इटालीमा गत बुधबार ४७५ को मृत्यु भएको थियो भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाको मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए । शुक्रबार ६२७ जनाको ज्यान गएको थियो भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । चीनमा बुधबार चीनमा ८, बिहीबार ३ र शुक्रबार ७ जनाकाे ज्यान गएकाे थियाे ।

हालसम्म इटालीमा ५३ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ६ हजार ७२ जना निको भएका छन् । अहिले इटालीमा २ हजार ८५७ जना गम्भीर अवस्था गम्भीर रहेका छ । कोराेनाको उद्गम स्थल चीनमा भने हालसम्म ८१ हजार ८ संक्रमित भए पनि अहिले ७१ हजार ७४० जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा १ हजार ५५६ मृत्यु भएको छ भने २० हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म १ हजार ३७८ को मृत्यु भएको भने २५ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ ।