उत्तर प्रदशेका मुख्य मन्त्री भेट्न ‘द कश्मिर फाइल्स’को टिम लखनउमा

चलचित्र ‘द कश्मिर फाइल्स’को टिमले उत्तर प्रदशेका मुख्य मन्त्री योगी आदित्यनाथसँग भेट गरेको छ ।

चलचित्रका लेखक तथा निर्देशक विवेक रञ्जन अग्निहोत्री, अभिनेता अनुपम खेर सहित निर्माताहरु पल्लवी जोशी र अभिषेक अग्रवालले आइतबार लखनउमा मुख्यमन्त्रीसँग भेट गरेका हुन् । भेट पछि योगी आदित्यनाथले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका छन् । उनले लेखेका छन् – ‘फिल्म ले धार्मिक कट्टरता र आतंकवादको अमानवीय त्रासलाई साहसका साथ उजागर गर्दछ। निस्सन्देह, यो चलचित्रले समाज र देशलाई सचेत गराउने काम गर्नेछ। यस्तो सोचनीय फिल्म निर्माण गरेकोमा सम्पूर्ण टिमलाई बधाई छ।’

मार्च ११ बाट प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा नसोचेको सफलता पाइरहेको छ । चलचित्रले उठान गरेको कश्मिरी पण्डितहरुको विषयले भारतमा ठुलै तरङ्ग ल्याएको छ । भारतका केही राज्य सरकारले चलचित्रमा लिने गरेको स्टेट भ्याट छुट् दिएका छन् ।