नारायणी नदीको सरसफाइमा सहभागी भए अभिनेता राजेश हमाल

काठमाडौं : आजभोली अभिनेता राजेश हमालको बसाई काठमाडौंभन्दा मोफसलमा बढी हुने गरेको छ । घुमफिरका सौखिन उनी कहिले सांस्कृतिक कार्यक्रम त कहिले उद्घाटनको शिलशिलामा धेरै जसो राजधानीबाहिर निस्किरहेका हुन्छन् । यतिबेला उनी आफ्नो पुर्ख्यौली घर नवलपरासी पुगेका छन् । त्यही मेसोमा उनले सोमवार विहान ७ देखि ९ बजेसम्म नारायणी नदीको सरसफाइ गरे ।

हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन्। हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दा’ह संस्कार गर्दा फ्याँकिएका लुगा सहितका फोहोरमैला व्यवस्थापन गरेका थिए । सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको सरसफाइ कार्यक्रममा राजेश हमाललाई स्थानीयले पनि साथ दिएका थिए ।

हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाई गर्न आग्रह गरेका छन्। उनले भने- ‘हामीले केहीबेर सफाई गरेर सधैंका लागि सफा हुने होइन । सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो । यहाँ घुम्न आउने पर्यटकहरु पनि यो कुरामा सचेत हुनुपर्छ ।’ उनले आफैंले सफारी गाडी हाँकेर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।