सेनाका प्यूठले मुद्दा हालेपछि डीआईजी र एसपीलाई अदालतको कारण देखाउ आदेश

उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश जगतबहादुर थापाको एकल इजलासले मंगलबार विपक्षीको नाममा लिखित जवाफ मगाउने आदेश दिएको हो । नेपाली सेनाका प्यूठ दमनबहादुर चन्दले उनीहरुविरुद्ध रिट निवेदन गरेका हुन् ।

श्रीमती र छोरा बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली पुगे पनि प्रहरीले जाहेरी दर्ता नगरेको उनको भनाइ छ । चन्दले जाहेरी दरखास्त दर्ता गर्न आदेश माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी दर्ता नगरेपछि पीडित चन्द डिआइजी कँडेलको कार्यालयमा पुगेका थिए । उनले पनि नमानेपछि अदालतको ढोका घच्घचाएका हुन् ।

बैतडी मेलौली नगरपालिका–५ सेरा घर भएका प्युठ चन्दले श्रीमती र ५ वर्षको छोरालाई धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा डेरा गरेर राखेका थिए । उनी आफू मोरङको थलाहास्थित भैरव गणमा कार्यरत थिए ।

चन्दले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बंसाहाका लोकेन्द्र बिष्टले श्रीमती र छोरालाई बेचबिखनको उद्देश्यले भारत पुर्याएको आरोप लगाउँदै आएका छन् ।

श्रीमती र छोरालाई भारत पुर्याउने बिष्ट यसअघि सेनामै कार्यरत रहेको र रणध्वज गण सिलगढीबाट उपदान पाउने गरी राजीनामा दिएको चन्दको भनाइ छ ।