जग्गा बेच्ने नदिएको भन्दै आमाको हत्या गर्ने छोरासहित दुई जना पक्राउ

काठमाडौं । आमाको हत्यामा संलग्न रहेको अभियोगमा छोरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ६७ वर्षीया आमा नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने ३६ वर्षीय जेठो छोरा ओमबहादुर नेपाली र सोही महानगरपालिका–१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोठाभित्र घाँटी थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँको शव फेला परेको थियो । घटनाबारे अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

छोरा ओमले घर जग्गा बेच्नेको लागि पटक–पटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमारलाई आमा मार्नको लागि एक लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेको गरेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीका अनुसार शुक्रबार ओमबहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जना उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।