भारतसँगका नाकाहरूमा जोखिमपूर्ण आवागमन

काठमाडौँ, ९ चैत ।कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए । हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो ।

कञ्चनपुरको गड्डाचौकी नाकास्थित भन्सार कार्यालयको प्रांगणमा शनिबार बिहान भारतबाट आइपुगेका नेपालीको भीड । भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली एकैपल्ट घर फर्किंदा नाका अस्तव्यस्त बनेको छ।

कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन् ।

‘एकै पटक यति ठूलो भीड आउला भन्ने हामीले सोचेकै थिएनौं । त्यसअनुसारको तयारी पनि थिएन,’ हेल्थ डेस्ककी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘एक पटक त हामीलाई सास फेर्नसमेत गाह्रो भयो ।’ उनका अनुसार शनिबार १३ हजारभन्दा बढी नेपाली कामदार भारतबाट घर फर्किएका छन् । हेल्थ डेस्कमा अत्यावश्यक सामग्री र जनशक्तिको अभावका कारण प्रभावकारी स्वास्थ्य जाँच तथा भीड व्यवस्थापन गर्न नसकिएको उनले बताइन् । यहाँ बिहान ५ देखि साँझ ८ बजेसम्म जाँच भइरहेको उनले बताइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।