गठबन्धन जनताबाट तिरस्कृत लोभीपापी चमेराहरूको गठजोड होः एमाले सचिव रायमाझी

काठमाडौं, १० चैत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो । यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो ।

सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ । यसले व्यवस्थापिकाको औचित्य समाप्त गर्यो, न्यायालयको शाख सखाप पार्यो । गठबन्धनले हार स्वीकार गरिसक्यो । अबको चुनाव जनादेश र परमादेशबीचको लडाइँ हो ।”
पार्टी फुटेका बेला एमालेले ६० प्रतिशत जित्ने कुरा हावादारी होइन भन्ने पत्रकार धमलाको प्रश्नमा रायमाझीले थपे, “अहिले लाखौंको सभामा हजारौं, हजारौंको सभामा सयौंको पार्टी प्रवेश भइरहेको छ । दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले फुटेको होइन, चोइटिएको हो । अहिले त्यो भन्दा कति गुणा धेरै जुटेको छ ।”

गठबन्धन सरकारका कारण मुलुक टाट पल्टिन लागेको आरोप पनि उनले लगाए । उनले भने, “अहिले देशको अर्थतन्त्र ध्वस्त भएको छ । अर्को बजेट आउने बेला भैसक्यो, २० प्रतिशत पनि खर्च भएको छैन । महँगीले आकाश छोएको छ । यसलाई कसरी सरकार टिकाउने भन्ने मात्र ध्याउन्न छ, राष्टका लागि भिजन छैन । त्यसैले एमाले दुई तिहाइ हाराहारीमा चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको छ ।”