अदालतले भन्यो- पलशाहले मध्यराती नाबालिग गायिकाको कोठामा जानुको औचित्य देखाउन सकेनन्

जिल्ला अदालत तनहुँले  नाबालिग गायिकाले फसाउने नियतले आफूमाथि बलात्कारको आरोप लगाएको भन्ने  पलशाहपक्षको बहसलाई अस्वीकार गर्दै उनलाई  पुर्पक्षका लागि थुनामा पठाएको छ।

बुधवार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीको मुख्य जिकिर थियो- घटनाको १० महिनापछि उजुरी गर्नुको उद्देश्य नै फसाउका लागि हो।

उनीहरुले घटना भएको भोलिपल्ट पीडित नाबालिग र पल सँगसँगै ढोरबाराही मन्दिर घुम्न गएको, सँगै सुटिङ गरेको, सँगसँगै काठमाडौं फर्किएको र त्यसपछि पनि कयौं पटक भेटघाट र घुमफिर गरेको बताएका थिए।

पलका कानुन व्यवसायीको उक्त जिकिरलाई अदालतको थुनछेक आदेशले अस्विकार गरिदिएको छ। आदेशमा पीडित पक्षले यथेष्ट सोच, विचार र विमर्श गरेर कानुनी प्रक्रियामा जान सक्ने उल्लेख छ।

‘प्रतिवादी र आफू एउटै फिल्डमा लागेकाले कानुनी उपचारमा जाँदा आफ्नो क्यारिअरमा असर पर्ने हो कि भन्ने विषयमा विचार विमर्श गर्दागर्दै पीडितको तर्फबाट जाहेरी दिन ढिलो भएको भन्ने वादी तथा जाहेरवाला पक्षका कानुनविद्हरुको तर्कसँग असहमत हुनुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ, ‘आफू कहिले कसरी न्यायिक उपचारमा जाने हो र त्यसरी जाँदा दीर्घकालीन रुपमा के कस्तो परिस्थिति वा असहजता आउन सक्दछ भन्ने विषयम पीडित तथा निजका संरक्षकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न सकिदैन ।’

नाबालिग गायिकाका परिवारले सुटिङका क्रममा तनहुँमा प्रदीप थापाको घरमा बस्दा गत बैशाख १४ गते बलात्कार घटना भएको बताएका थिए। उक्त मितिले एक बर्ष भित्रै जाहेरी परेर अभियोग पत्र दायर भएको भन्दै अदालतले आदेशमा भनेको छ– ‘त्यसरी समयमा जाहेरी नगर्नुको पछिको कारण, अवस्था र परिस्थितिका विषयमा पछि प्रमाण बुझ्दै जाँदाका अवस्थामा समेत प्रस्ष्ट हुने भएकाले थुनछेक रोहमा त्यसलाई थप विश्लेषण गरी रहन आवश्यक देखिएन।’

बलात्कार मुद्धा एक बर्षभित्र जाहेरी परेर अदालतमा अभियोग पत्र दायर भइसक्नुपर्ने कानुनी हदम्याद छ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले पललाई बलात्कार मुद्धामा पूर्पक्षका लागि थुनामा पठाउने अरू आधारपनि आफ्नो आदेशमा  उल्लेख गरेको छ।

पहिलो आधार हो, नाबालिग सुतेको कोठामा मध्यरातमा गएको पलशाहको स्वीकृति।

प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिँदा पलले बलात्कार आरोप अस्विकार गरेका थिए। तर उनले गत बैशाख १४ गते मध्यरात बियर खाएर बाँकी रहेको बियर लिएर पीडित नाबालिगको कोठामा गएको स्विकार गरेका थिए।

अदालतले थुनछेक आदेशमा राती १२ बजेतिर पीडित सुतेको कोठामा जानुको औचित्य पलले पुष्टी गर्न नसकेको बताएको छ ।

‘राती १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्विकार गरेको पाइयो,’ आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै आचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन, यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्विकारोक्तीको सोही राती निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’

दोस्रो आधार, ३२ बर्षीय वयष्क व्यक्ति पललाई  पीडित नाबालिग भएको कुरा  पूर्ण जानकारी थियो।

तेस्रो आधार हो ‘ब्वायफ्रेण्ड गर्लफ्रेण्ड सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्ड माात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’  भन्ने पलको अडियो रेकर्ड। परिवारसँगको छलफलमा पलले त्यसो भनेको रेकर्ड सरकारी वकिलले मुद्दासँगै बुझाएको थियो। उक्त अडियो रेकर्डमा भएको स्वर आफ्नै भएको भन्दै पलले स्वीकार गरेका थिए। पीडितपक्ष र छलफलका साक्षीहरुले बयानमा समेत उक्त अडियो पलको भएको उल्लेख गरिसकेका छन्।

पलले बलात्कार गरेका कारण पीडितले आफूलाई अप्ठ्यारो परेको भनेर गरेको गुनासो र त्यसपछि न्यायिक कारबाहीमा जान सुझाएका गायक दुर्गेश थापा लगायतको वयानलाई पनि अदालतले तत्काल प्राप्त प्रमाण मानेको छ।

पललाई पूर्पक्षका लागि थुनामा पठाउन यी आधारबाहेक पीडितले दिएको किटानी जाहेरी, घटना विवरण, पीडितको शारीरिक जाँचलाई पनि आधार मानेको छ।

कृष्ण जोशी मतियार होइन, कानुनी उपचारका बाधक

थुनछेक बहसपछि जिल्ला अदालतले जारी गरेको आदेशमा मतियारका रुपमा पेश गरिएका कृष्ण जोशीलाई मतियार नभई न्यायमा अवरोध गरेको उल्लेख छ। जिल्ला न्यायाधीश ढुङ्गानाको इजलासले मतियार हुनका लागि नेपालको सर्वोच्च अदालतले गेको ब्याख्या र बेलायतको क्विन्स बेन्चको ब्याख्या उल्लेख गरेको छ।

मतियारका रुपमा सजाय गर्न उसलाई उक्त कसुरका अनिवार्य तत्वबारे जानकारी भएको हुनुपर्ने, उसले गरेको कार्यबाट मुख्य कसुरदारमा उत्साह थपिएको स्पष्ट देखिनुपर्ने आदेशमा भनिएको छ।

‘बैशाख १४ तनहुँमा भएको बलात्कार घटनामा कृष्णले वारदात गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्ने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै आदेशमा उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ।‘मतियारले पनि कुनै कसुरजन्य कार्य गर्ने गराउने मनसायपूर्वक मुख्य कसुरदारलाई कसुर गर्न सहयोग हुने गरी कुनै काम कारवाही वा कृयाकलाप गरेको हुनाले उसले गरेको कार्य अनुसार निजलाई पनि फौजदारी दायित्वप्रति कुनै न कुनै रूपमा जिम्मेवार बनाएको हुन्छ,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत मिसिल कागजात हेर्दा तनहुँ जिल्लाको दुलेगौडा स्थित प्रदीप थापाको घरमा बैशाख १४ गते घटेको घटना वारदातको सन्दर्भमा प्रतिवादी कृष्णले पीडित समेतलाई प्रदीप थापाको घरमा बस्ने व्यवथा मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसाग सरसल्लाह गरी चाँचोपाँचो मिलाइ दिएको भन्ने कुरा जाहेरी लगायत मिसिलमा संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले खुल्न आएको देखिँदैन।’

तत्काल प्राप्त प्रमाणका आधारमा कृष्णले घटनाको जानकारी पाएपछि पीडितलाई न्यायिक उपचारमा जान सल्लाह दिनुको सट्टा उल्टै पीडितलाई उजुर वाजुर गर्न अवरोध पुर्याउने, धम्क्याउने र डरत्रास देखाउने जस्तो कार्य गरेको मिसिलमा देखिएको र उक्त कुरा कृष्णले बयानमा समेत स्विकारेको आदेशमा उल्लेख छ।

अदालतले उनले न्यायमा अवरोध गरेकोले त्यही अनुरुपको कसुर मागदाबी गर्न सरकारी वकिलले ध्यान नपुर्याएको उल्लेख गरेको छ।

‘जहाँसम्म प्रतिवादीका विरुद्ध उजुरवाजुर नगर्न तथा त्यसरी न्यायिक कारबाहीतर्फ गए नराम्रो हुनेछ भनि पीडितलाई डर त्रास देखाइ धम्की समेत दिएको भन्ने सन्दर्भ छ, तत् सम्बन्धी प्रतिवादीले गरेको उक्त कार्य कसुरबारे सुचना दिन बाधा अवरोध गरेको विषयसँग सम्बन्धित देखिन्छ,’ आदेशमा भनिएको छ, ‘त्यस्तो कार्यका निम्ति कानुनले छुट्टै फौजदारी दायित्वको व्यवस्था गरेको पाइन्छ, प्रस्तुत मुद्धामा उल्लेखित विषयतर्फ अभियोजन पक्षबाट समुचित ध्यान पुग्न सकेको पाइएन।’

कृष्णले बलात्कार घटनामा मतियारको भूमिका खेलेको भन्दै पीडित पक्षले फागुन २९ गते पूरक जाहेरी दिएका थिए । बयानमा उनले पललाई नराम्रो काम गर्न कहिल्यै सहयोग नगरेको र अभियोग दाबी इन्कार गरेका छन्।

अदालतले थुनछेक आदेशमै पीडित र प्रतिवादी, उनका परिवार लगायतलाई अमर्यादित र अश्लिल  टिका टिप्पणी नगर्न समेत आग्रह गरेको छ। अदालतले थुनछेक आदेश जारी गर्नुअघि दमौलीमा अभियुक्त पलका पक्षमा केही व्यक्तीहरुले रिहाई माग गर्दै प्रदर्शन गरेका थिए।

यसअघि पल पक्राउ परेपछि उनका समर्थनमा नाराबाजी, जुलुस लगायतका गतिविधी भएका थिए। केही व्यक्ती र समुहले पीडितलाई थप पीडा दिने खालका अभिव्यक्ती र गोपनियता उल्लङ्घन समेत गरेका थिए।

“युवराज श्रेष्ठ सेतोपाटीबाट