इटाली विश्वकप छनोट हुन असफल

युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।

खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँचवटा गर्न सक्यो ।

योसँगै इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित बनेको छ । जबकि आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो । यता म्यासेडोनियाले अब विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलको सामना गर्नेछ ।