१ सय ३२ केभी प्रसारण लाइनको फुदबांग सब स्टेशन उद्घाटन

अर्घाखाँची – सन्धिखर्कमा १ सय ३२ केभी प्रसारण लाइन आयोजनाको फुदबांग सब स्टेशनको उद्घाटन गरिएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क , गोरुसिंगे १ सय ३२ केभी प्रसारण लाइनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सन्धिखर्क नगरपालिका ६ फुदबांगमा उद्घाटन गर्नु भएको हो ।

सब स्टेशनबाट अर्घाखाँची, प्युठान गुल्मी र प्युठानका एक लाख बढी ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

सब स्टेशनको उद्घाटन गर्दै उर्जा जल स्रेत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलीयम पदार्थको मुल्य बढिरहेकाले त्यसको विकल्पमा जल विद्युतको प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

यस्तै, उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङले देशका ९५ प्रतिशत स्थानमा विद्युतको पहुँच पुगेको बताउनुभयो । उहाँले १ सय ३२ केभीको यस प्रसारण लाइनबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङ जिल्लाका स्थानीयहरुले भरपुर विद्युतको सुविधा प्रयोग गर्न सक्ने बताउनुभयो ।