देउवा एमालेसँग डराए : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डराएको टिप्पणी गरेका छन्। शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी (काठमाडौं) को अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देउवा एमालेको पाखुरा देखेर डराएको दाबी गरेका हुन्। उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध सबै दल एकजुट भए पनि जित्न नसक्ने दाबी पनि गरे। ५० प्रतिशतभन्दा बढी जनमत एमालेका पक्षमा रहेको दाबी उनले गरे।

‘एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’, ओलीले भने। शनिबारै एक कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावमा अहिलेको गठबन्धन कायम गर्न हुन्न भन्ने कांग्रेस नेताप्रति आक्रोश व्यक्त गर्दै माओवादी केन्द्र एमालेसँग मिल्यो भने हाम्रो हालत के होला, भनेका थिए।