भारतमा हात्ती बेच्न लैजाँदै गर्दा तीनजना पक्राउ

काठमाडौं :    भारतमा हात्ती बेच्न खोज्ने तीनजना प्रहरीको फन्दामा परेका छन्।

दुई हात्तीलाई भारततर्फ बेच्न लैजाने क्रममा पर्साबाट भरतपुर महानगरका माउतेहरूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूसहित दुई हात्ती पनि नियन्त्रणमा लिइएको पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा रहेका हात्ती र मानिसलाई कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरिएको छ।

नेपालबाट भारततर्फ हात्ती बेच्न लागेको विशेष सूचनाका आधारमा पर्साको पकहाँमैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट हात्तीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने बिकवा ६० वर्षीय माउते बुदिराम महतो, त्यही ठाउँका ४० वर्षीय माउते राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन्।

पक्राउ परेका उनीहरुलाई ती हात्तीसहित आवश्यक कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।