एनआरएनएको अनुभव देश निर्माणमा उपयोग गर्नुपर्छ

काठमाडौँ  ।     राष्ट्रपति विद्यादेवी भण्डारीले संसारभरि फैलिएका गैरआवासीय नेपालीलाई आफूसँग रहेको सीप र अनुभवलाई राष्ट्रको विकासमा उपयोग गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको दसौँ महाधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले पर्यटन प्रवद्र्धनका साथै नेपाललाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले पु-याएको योगदानको प्रशंसासमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाली भाषा र कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गरी भावी पुस्तामा रूपान्तरण गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’’

सोही समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन तथा नयाँ लगानीका लागि सरकारले सहयोग गर्ने बताउँदै भन्नुभयो, “लगानी र व्यवसायको भौतिक सुरक्षाका लागि आवश्यक परे कानुन संशोधन गर्नसमेत सरकार तयार छ ।’’ उहाँले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध भएन भने व्यक्तिगत सफलताको कुनै महत्त्व नहुने बताउनुभयो । उहाँले नेपाललाई आर्थिक र बौद्धिक रूपमा समेत समृद्ध बनाउन एनआरएनएको महìवपूर्ण भूमिका रहने चर्चा गर्नुभयो ।

सङ्घका अध्यक्ष कुमार पन्तले अध्यक्षता गरेको समारोहमा पूर्वअध्यक्ष जिबा लामिछाने, पूर्वसंरक्षक रामप्रताप थापा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष दिवाकर गोल्छालगायतले धारणा व्यक्त गर्नुभएको थियो ।
प्रवासी नेपालीलाई एउटै छातामा एकताबद्ध गर्ने उद्देश्यले विक्रम संवत् २०६० असोज २४ गते स्थापना भएको एनआरएनएले सामाजिक र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय सङ्घमा हाबी हुँदै गएको गुटबन्दी तथा पार्टीगत राजनीतिक हस्तक्षेपका कारण सङ्घका गतिविधि विवादरहित भने बन्न सकेका छैनन् ।तीन हजार ९८ जना प्रतिनिधिले एनआरएनएको नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नेछन् । एनआरएनएको भावी नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, रविना थापा, डा. बद्री केसीलगायत प्रतिस्पर्धामा रहनुभएको छ ।