प्रचण्डलाई चितवन कांग्रेस सभापति खनालको जवाफ : अब माओवादी बोक्न सकिन्न

चितवन ।    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रलाई सहयोग नगर्ने घोषणा गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल हुने बताइरहनु भएको बेला चितवन कांग्रेसका सभापति खनालले अव माओवादी बोक्न नसकिने घोषणा गर्नुभएको हो ।

भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै खनालले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो । ‘भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिँदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं,’ सभापति खनालले भन्नुभयो ।

खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको बताउनु भयो । अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु मेयर हुनुभएको थियो ।

‘विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन,’ खनालले भन्नुभयो, ‘कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसँगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’