केपी ओली कपिलवस्तु र प्रचण्ड रोल्पा पुग्दै

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु पुग्दै छन्।

हृदयेश त्रिपाठी समूहमा रहेका प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने ओली कपिलवस्तु पुग्ने भएका हुन्।

ओली आउने भएपछि एमाले कपिलवस्तुले चुनावी सभासमेत आयोजना गर्दैछ। सोही चुनावीसभामा संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले कपिलवस्तुले जनाएको छ।

ओलीले सोमबार र मंगलबार कपिलवस्तु रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रचण्डले लिबाङमा आमसभालाई सम्बोधन गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार रोल्पा पुग्दैछन्।

रोल्पा पुगेर प्रचण्डले युद्ध पर्यटनलाई टेवा पुर्‍याउने गरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन गर्नेछन्।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ। केहीको सालिकसमेत राखिएको छ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको उद्घाटन प्रचण्डले गर्ने रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिए।

उक्त कार्यक्रमपछि प्रचण्डले लिबाङको टुँडिखेलमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।