सिङ्गापुरबाट आएको सिल्क एअरमा रहेका सबै यात्रु नेपाली रहेकाे पुष्टि, ३ जना मात्रै क्वारेन्टाइनमा

काठमाण्डौ – सिङ्गापुरबाट आएको सिल्क एअरको जहाजमा रहेका सबै ९८ जना यात्रु नेपाली रहेको पुष्टि भएको छ ।शनिबार राति सिङ्गापुरबाट आएको जहाजमा एक जना डच नागरिक पनि रहेको हल्ला चलेपछि जहाजलाई विमानस्थलमा अवतरण अनुमति नै दिइएको थिएन ।

तर पाइलटले इन्धन भर्नको लागि मात्रै भए पनि अवतरणको अनुमति मागेका थिए । त्यसपछि सबै यात्रुलाई विमानस्थलमा ओर्लन नदिइ सिङ्गापुर पठाउने तयारी थियो । तर यात्रुले नाराबाजी गरेर कुनै हालतमा विमान चल्न नदिने जनाएपछि उनीहरुलाई ओरालेर अनुसन्धान गरिएको थियो ।

अनुसन्धानको क्रममा एकजना अस्ट्रेलियन मुलकी नेपाली नागरिक र जापानबाट आएका एक दम्पति नेपाली मुलका नागरिक भएको पाइएको थियो ।

विमानस्थलमा सबैको बृहत् जाँच गरिएको थियो । जाँचका क्रममा सबैको अवस्था सामान्य देखिएको थियो । त्यसपछि जापानबाट आएका दम्पति र अस्ट्रेलियन मुलकी नेपाली नागरिक गरी तीन जनालाई क्वारेन्टाइनमा राख्ने र बाँकी ९५ जनालाई घरमै सुरक्षित बस्न भनेर विमानस्थलले छाडिदिएको छ ।

शनिबार राति नै फर्कने तालिका रहेको सिल्क एअरको जहाज विवादका कारण रातभरि त्रिभुवन विमानस्थलमा नै रहेको छ । जहाजले केही बेरमा एक सय ६५ जना यात्रु लिएर फेरि सिङ्गापुर जाने नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोपका पश्चिम एसिया लगायत खाडी क्षेत्रका देशहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशुबाट आउने नागरिकमाथि रोक लगाएको थियो । तर सिङ्गापुरबाट आएको जहाजले डच नागरिक पनि बोकेको हल्लापछि तनाव उत्पन्न भएको थियो ।