कम्युनिष्टहरूलाई मिलाउन शक्ति केन्द्रहरु लागेका छन्, गठबन्धन गरौं : गृहमन्त्री खाँण

काठमाडौं ।    गृहमन्त्री बालकृष्ण खाँणले शक्ति केन्द्रहरूले कम्युनिष्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले पहिले नै चुनावी गठबन्धन गर्ने सहमति भएकाले अहिले झगडा गर्न आवश्यक नरहेको बताएका हुन् ।

चुनावको नतिजा आफ्नो पक्षमा आउने गरी तयारी गर्नुपर्ने पनि खाँणको भनाइ छ । बैठकमा गृहमन्त्री खाँणले भने, ‘शक्ति केन्द्रहरुले कम्युनिष्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।’

सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो। त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं ।’

कांग्रेसमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा मतभेद देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा जित हासिल गर्न कठिन हुने बताउँदै आएका छन् ।

नेता रामचन्द्र पौडेलले पनि एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन नहुने भन्दै उनले गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । नेता कोइरालाले भने गठबन्धन आवश्यक भए तल्ला कमिटीलाई नै निणर्यको अधिकार दिइनुपर्ने बताएका छन् ।