चिन्डीमाया तामाङ यसरी भइन् विममाया

संखुवासभा ।      संखुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत २२ फागुनमा जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी प¥यो ।

त्यस दिन भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजनाविरुद्ध जालसाजी, कीर्ते र ठगी गरेको आरोपमा उजुरी परेको थियो ।

गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब ३ करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं २७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा सो जग्गा हत्याउन षड्यन्त्र भएको देखिन्छ ।

जग्गा जालसाजी प्रकरणमा पक्राउ परेका वडाध्यक्ष भोटे मृतकको नाममा कीर्ते नागरिकताको प्रतिलिपि लिने काममा समेत संम्लग्न देखिएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीका अनुसार विममाया भनेर प्रस्तुत गरिएकी महिलाको अर्को पनि नागरिकता फेला परेको छ । जग्गा हत्याउने यस घटनाको केन्द्रमा विममाया तामाङको नाम आएको छ ।

को हुन् विममाया? अहिले कहाँ के गर्दै छिन् विममाया? विममाया र दलबहादुरबीच सम्बन्ध के थियो? उनलाई दलबहादुरको निकटतम हकवाला कसरी ठह¥याइयो? दलबहादुरको हकवाला चिन्डीमायाको नाममा जग्गा किन नामसारी गरिएन? जग्गा नामसारी गर्न विममायालाई कसरी हकवाला ठह¥याइयो? उमेरले ६० नाघेकी, निरक्षर, आँखाको दृष्टि मधुरो भएकी र सामान्य आवाजसमेत सुन्न कठिन दलबहादुरकी सहोदर छोरी चिन्डीमाया हुँदाहुँदै उनैलाई विममाया भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि किन निकालियो? यस्ता यावत् प्रश्न खडा भएका छन् ।

डीएसपी सुवेदीका अनुसार अदालती प्रक्रियाबाट घटनाको अनुसन्धान भइहेको छ । जग्गा जालसाजी, कीर्ते नागरिकता काण्ड प्रकरणमा जोडिएका व्यक्तिबाट थप प्रमाण जुटाउने काम भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।