मस्को – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक महिना पूरा भएको छ। युक्रेनसँग लडाइँ गर्न रुसले चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन्।
ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरूले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको हो।
ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ। भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरू यसअघि नै आइसकेका छन्।
मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ। अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन।’
‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो। चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्