पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित अमेरिकामा धेरै

कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार बितेका २४ घण्टामा अमेरिकामा धेरै नयाँ संक्रमित भेटिएका छन्।

बितेको २४ घण्टामा त्यहाँ ७ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ।

हिजो भने सबैभन्दा बढी संक्रमित इटालीमा भेटिएका थिए।

अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ सय ४० जनाको मृत्यु भइसकेको छ।

अमेरिकापछि इटालीमा धेरै नयाँ संक्रमित भेटिएका छन्। २४ घण्टामा इटालीमा ६ हजार ५ सय ५७ नयाँ संक्रमित भेटिएका हुन्।

इटालीमा हालसम्म कुल ५३ हजार ५ सय ७८ जनामा यसको संक्रमण पाइएको छ।

त्यसैगरी स्पेनमा ३ हजार ९ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् भने जर्मनीमा २ हजार ५ सय १६ जना नयाँ संक्रमित भेटिएका छन्।

स्पेन र जर्मनीमा क्रमशः १ हजार ३ सय ७८ र ८४ जनाको संक्रमणका कारण ज्यान गइसकेको छ।

फ्रान्समा पनि १ हजार ८ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ संक्रमणबाट हालसम्म ५ सय ६२ जनाको मृत्यु भएको छ भने १४ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी मध्यपूर्वमा सर्वाधिक प्रभावित बनेको इरानमा हालसम्म १५ सय ५६ जनाको ज्यान गएको छ भने २० हजार ६ सय १० जनामा संक्रमण पुष्टि भएको छ।

बितेका २४ घण्टामा त्यहाँ ९ सय ६६ नयाँ संक्रमित भेटिएका छन्।