दोर्दीका घरघरमा खानेपानीका धारा

खानेपानीको समस्या झेल्दै आएका लमजुङको दोर्दी गाउँपालिकाका स्थानिय घरघरमा खानेपानीको धारा पुगेपछि खुसी छन् । ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोग र दोर्दी गाउँपालिकाको पहलमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्‍याइएको हो । दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो । गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको जनाएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २, अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्‍याइएको छ ।

१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको छ ।