विद्युतीय बसमा ओलीको ५५ किलोमिटर यात्रा

बुटवल  ।    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार तिलोत्तमाको मणिग्रामबाट विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुग्नुभएको छ । सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गर्दै ओली त्यहीँ बस चढेर भैरहवा, लुम्बिनी हुँदै पुनः भैरहवा विमानस्थलमा पुग्नुभएको हो ।

ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुग्नुभएको थियो । लुम्बिनीमा आयोजित पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर उहाँ भैरहवा विमानस्थलसम्म आउनुभएको थियो ।

ओली झण्डै ५५ किलोमिटर विद्युतीय बसमा चढेर यात्रा गरेको सुन्दर यातायात प्रालिका सञ्चालक डीआर घिमिरेले जानकारी दिनुभयो । बस यात्रा गरेसँगै ओलीले विद्युतीय बस चल्ने जस्तै यस क्षेत्रका सडक लोभलाग्दा रहेको बताउनुभयो । ‘नेपाल अब आधुनिकतातर्फ गइसक्यो,’ ओलीले भन्नुभयो , ‘अब यस्तै गाडी चलाउनुपर्छ । अब प्रदूषणरहित बस चलाउनुपर्छ, जसले हामीलाई व्यापार घाटा पनि कम गर्छ ।’

अहिले बुटवल–भैरहवा सडक ६ लेनको बनेको छ । प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्राइएको बताउनुभयो । ‘तत्कालका लागि हामीले दुई वटा बस ल्याएका छौँ,’ घिमिरेले भन्नुभयो, ‘यी बस बुटवल–भैरहवा, लुम्बिनी र बुटवल, सालझण्डी र कपिलवस्तुको चार नम्बर रुटमा चल्नेछन् ।’ बस ५० सिट क्षमताका रहेका छन् । बस सुविधासम्पन्न रहेको घिमिरेको भनाइ छ ।