मूल्यवृद्धि रोक्न कर र शुल्क घटाइदिन निगमको प्रस्ताव

नेपाल आयल निगमले मुल्यवृद्धी रोक्न पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्क घटाइदिन प्रस्ताव गरेको छ । निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्कमध्ये समग्रमा प्रतिलिटर १५ रुपैयाँ घटाउन प्रस्ताव गरेको छ । मासिक नोक्सानी करिब १० अर्ब रुपैयाँ पुगेको जनाउँदै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २ सय रुपैयाँसम्म शुल्क मिनाहा गर्न प्रस्ताव गरेको छ ।

पेट्रोलियम पदार्थमा लिइँदै आएको भन्सार शुल्क, मूअकर, पूर्वाधार शुल्कलगायतलाई केही समय घटाउन निगमले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको १० बुँदे प्रस्तावमा शुल्क घटेपछि बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्ने जनाएको छ ।

लगातार मूल्य बढ्दा चालु आर्थिक वर्षको फागुनसम्म निगमको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको निगमले जनाएको छ । इन्धनको मूल्यमा भइरहेको अचाक्ली वृद्धिले उपभोक्ता मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । हाल सरकारले प्रतिलिटर पेट्रोलमा ६० रुपैयाँ ११ पैसा, डिजेलमा ४२ रुपैयाँ ७८ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ ३० पैसा र मट्टीतेलमा १३ रुपैयाँ ४१ पैसा राजस्व उठाइरहेको छ ।

अहिले प्रतिलिटर पेट्रोलमा २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा र खाना पकाउने एलपी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा रहेको निगमको तथ्यांक छ । मट्टीतेलमा भने प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा र हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ नाफा छ ।

तत्कालका लागि उक्त मूल्य घटाएर निगमसँगै उपभोक्तालाई पनि राहत दिनुपर्ने निगमको भनाइ छ । आपूर्ति व्यवस्थापनमै समस्या उत्पन्न हुन थालेपछि अहिले निगमले पत्र पठाएरै करमा पुनर्विचार आग्रह गरेको हो ।