नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र हवल्दारको पेन्सन १६ वर्ष बनाउने प्रस्ताव स्वीकृत

काठमाडौँ- नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव गृहमन्त्रालयबाट स्वीकृत भएको छ। दुवै प्रहरीको प्रधान कार्यालयबाट गृहमन्त्रालय पुगेको उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले स्वीकृत गरेका हुन्। अब उनले उक्त स्वीकृत प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछन्।

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब प्रहरीका तल्लो दर्जाका प्रहरीले जागिर अवधि १६ वर्ष पुगेसँगै पेन्सन निस्किन पाउनेछन्। त्यस्तै प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको पेन्सन अवधि भने १८ वर्ष सेवा अवधि प्रस्ताव गरिएको गृहस्रोतले जानकारी दिएको छ।

गृहस्रोतले दिएको जानकारी अनुसार प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको पेन्सन भने सेवा अवधि २० वर्ष पुगेको हुनुपर्ने प्रस्ताव छ। यो प्रस्तावअनुसार २०६० चैत २६ गतेपछि प्रहरीमा भर्ना भएर नेपाल प्रहरीमा काम गरिरहेकाहरु र अब भर्ना हुनेहरुको लागि लागू हुनेछ।