नेपालका प्रधानमन्त्रीलाई राज्यमन्त्री पठाएर विमानस्थलमा भारतको स्वागत

काठमाडौं । भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राज्यमन्त्री पठाएर भारत सरकारले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

विगतमा नेपालका सरकार प्रमुखलाई प्रायः मन्त्रीले स्वागत गर्ने गरेकोमा यस पटक राज्यमन्त्री पठाइएको हो । तीन दिने औपचारिक भ्रमणका क्रममा पत्नी आरजु राणा, चार मन्त्रीसहित ५० जनाभन्दा बढीको जम्बो टोली लिएर देउवा आज नयाँ दिल्ली गएका हुन् ।

देउवालाई स्वागत गर्न भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्ट पुगेका थिए । उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।