‘कश्मिर फाइल्स’ प्रचार गर्ने गुजरातले प्रतिबन्ध लगाएको ‘गुजरात फाइल्स’, हेर्नुहोस् युट्युबमा

गुड फ्राइडे सिनेमा

भारतमा हालसालै ‘द कश्मिर फाइल्स’ फिल्म निकै चर्चामा आयो। गत फागुन २७ गते रिलिज यो फिल्मले अप्रत्याशित रूपमा छलाङ मारेर ‘अलटाइम ब्लकबस्टर’ को उपाधि समेत पायो।

फिल्मको व्यावसायिक सफलताका पछाडि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र हिन्दुवादी संगठनहरूको ठूलो हात छ। भाजपा सरकार भएका राज्यहरूले फिल्मलाई कर छुट दिने निर्णय गरे।

यस्तै राज्यमध्ये एक हो गुजरात। कश्मिरी पण्डितहरूको विस्थापनको कथालाई यथार्थपूर्ण ढंगले चित्रण गरेको भन्दै गुजरातले फिल्मलाई कर छुट दिएको हो।

तर अहिले धेरै भारतीयले गुजरातको यो निर्णयमाथि प्रश्न उठाएका छन्। यसको कारण हो आजभन्दा करिब १५ वर्षअघि रिलिज भएको फिल्म ‘परजानिया’।

सत्य घटनामा आधारित परजानियाको कथा द कश्मिर फाइल्सकै जस्तो छ। फरक यत्ति हो- यसको कथाको बिउ कश्मिरबाट होइन, गुजरातबाट सुरू हुन्छ।

सन् २००२ मा गुजरातमा थुप्रै हिंसाका घटना भएका थिए। त्यसैमध्ये फेब्रुअरी २८ मा गुलवार्ग सोसाइटीमा भएको हुलदुंगामा ६९ जनाको ज्यान गएको थियो। परजानिया फिल्ममा त्यही घटनामा हराएका आफ्ना छोरा खोज्ने परिवारको कथा छ।

त्यो घटनामा परजानियाका निर्देशक राहुल ढोलकियाका साथीका परिवार तितरबितर भएका थिए। अमेरिका बस्ने उनले त्यो पीडालाई फिल्ममार्फत् देखाउन खोजेका थिए। विश्वव्यापी मुद्दा भएकाले अंग्रेजी भाषामा बनाइएको परजानिया भारतमा चल्छ कि चल्दैन भन्ने उनलाई सुरूमै शंका थियो।

भयो त्यही। सेन्सर बोर्डले पास गरे पनि गुजरातले त्यो फिल्म चलाउन मानेन। आफ्नो राज्यमा प्रतिबन्ध लगायो।

आफ्नो राज्यमा भएको हिंसाका कारण सिर्जिएको कथाको प्रतिबिम्बलाई रोक्ने र अरूको कथालाई कर छुट दिने यो निर्णयमा अहिले धेरैले प्रश्न उठाएका छन्। यसरी प्रश्न उठाउनेमा पत्रकार राना अय्युब पनि हुन्।

‘गुजरात फाइल्स’ की लेखक राना अय्युबले द कश्मिर फाइल्सलाई कर छुट दिने राज्यले गुजरातको कथा देखाउने फिल्म किन रोक लगाएको भन्ने आशयको प्रश्न उठाएकी थिइन्। उनीसँगै अरू थुप्रैले परजानिया किन प्रतिबन्ध गरिएको थियो भनेर सामाजिक सञ्जालमा सोधिरहेका छन्।

आज हामीले तपाईंलाई त्यही परजानिया फिल्म हेर्न सिफारिस गरेका छौं।

माथि भनिसक्यौं, फिल्म गुजरातको हुलदुंगापछाडिको कथामा आधारित छ।

अमेरिकी नागरिक अलान (कोरिन नेमेक) गुजरातको सहर अहमदावाद आइपुग्छन्। उनी महात्मा गान्धीबारे थेसिस लेखिरहेका हुन्छन्। योसँगै शान्तिका दूत मानिएका गान्धीको देशमा उनी आफ्नो मनको शान्ति पनि खोज्ने प्रयासमा हुन्छन्।

उनको भेट गुजरातमा बसिरहेको एउटा पारसी परिवारसँग हुन्छ।

साइरस पिठावाला (नसिरूद्दिन शाह) आफ्नी श्रीमती शेरनाज (सारिका), साना छोराछोरी परजान (परजान दस्तुर) र छोरी दिलशाद (पर्ल बार्सिवाला) सँग बस्छन्। पिठावाला सामान्य परिवार हो। साइरस सिनेमामा काम गर्छन्। उनीहरूको खुशहाल परिवार छ। छिमेकीहरूसँग राम्रो सम्बन्ध छ।

पिठावाला परिवारसँगको संगतमा अलानले विस्तारै मनको शान्ति भेट्टाउन थाल्छन्।

तर त्यही समुदायमा रहेका मुश्लिमहरूप्रति हिन्दुहरूको धारणा राम्रो हुँदैन। हिन्दु संगठनका मान्छेहरू मुश्लिममाथि आक्रमणको योजना बुन्छन् र एकदिन निर्मम हमला र हुलदुंगा गर्छन्। मुश्लिमहरू खोजीखोजी हत्या गर्छन्, यातना दिन्छन्।

हिन्दु-मुश्लिमबीचको द्वन्द्वले त्यही समुदायमा बसिरहेको पारसी परिवारको जीवनमा आँधी ल्याइदिन्छ। उनीहरूले आफूहरू मुश्लिम नभएर पारसी भएको बताउँछन्। तर आक्रमणकारीहरू रोकिन मान्दैनन्।

जसोतसो साइरस, शेरनाज र उनीहरूकी छोरी दिलशाद उक्त हिंसाबाट बच्न सफल हुन्छन्। तर भागादौडमा दस वर्षे परजान हराउँछन्।

यसपछि साइरसको परिवार परजानको खोजीमा लाग्छ।

परजानिया गुजरातमा चर्केको त्यही दंगा र छोरा हराएको परिवारको कथा हो। एक अमेरिकीले गान्धीवादमा रमाउने भनिएको भारतको कुनाकुनामा देखेको हिंसा र भेदभावको कथा हो।

आमाबाले छोराको खोजमा तय गरेको यात्रा यो फिल्ममा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

यो फिल्मले त्यो बेलै थुप्रै बहस सिर्जना गरेको थियो। भारतभित्र चर्केको द्वन्द्वलाई फिल्मका रूपमा देखेपछि धेरै राष्ट्रवादीहरूले यसलाई स्वीकार्न सकेका थिएनन्। त्यही क्रममा गुजरातले यसलाई प्रतिबन्ध लगाएको थियो।

फिल्म समीक्षक र समाज विश्लेषकहरूले भने यो फिल्मलाई भारतीय समाजमा चर्किएको त्यो द्वन्द्वको ऐना भएको बताएका थिए। यो फिल्म सबैले, भारतीयले, अझ विशेषगरी गुजरातीले हेर्नै पर्ने भनेका थिए। यसले आफ्नो समाजभित्र जकडिएको हिंसा बुझ्न मद्दत गर्ने उनीहरूको भनाइ थियो, छ।

अहिले द कश्मिर फाइल्सलाई गुजरातले सरहना गरेपछि धेरैले परजानियालाई पत्रकार राना अय्युबको किताबको नामसँग जोडेर ‘गुजरात फाइल्स’ पनि भनेका छन्।

पछि सन् २००७ मा पराजानिया फिल्मबाट निर्देशक राहुल ढोलकियाले नेसनल फिल्म अवार्ड्स पाए। सन् २००८ मा उनले स्क्रिन अवार्ड्समा रामनाथ गोयंका मेमोरियल अवार्ड पनि जिते।

शेरनाजको भूमिका निर्वाह गरेकी सारिकाले पनि नेसनल फिल्म अवार्ड्मसमा उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी थिइन्।

सन् २००८ को फिल्म फेयर अवार्ड्समा पनि फिल्म लेखक डेभिड एन दोनिहु र राहुल मनोनयनमा परेका थिए।

(अंग्रेजी सबटाइटलका लागि युट्युब सेटिङ्समा गएर सबटाइटल्समा ‘इङ्लिस’ मा क्लिक गर्नुहोस्)