कामना मृत्यु प्रकरणः प्रहरी अनुसन्धानप्रति पीडित पक्षको आशंका

आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्ति फेसबुक म्यासेन्जरमा अनलाइन देखिएपछि पीडित पक्ष आक्रोशित बनेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहेका वीरेन्द्रनगर–४ भैरवस्थानका सुमित कार्की अनलाइनमा देखिएपछि पीडित पक्ष प्रहरीप्रति आक्रोशित बनेको हो।

पीडित पक्षले जाहेरीमै पीडकको मोवाइल नियन्त्रणमा लिएर कल डिटेल, म्यासेन्जर, ह्वाट्सएप, इमो, भाइबरलगायतका सामाजिक सञ्जालको अनुसन्धान गरिदिन माग गरेको थियो। प्रहरीले पीडितको माग बमोजिम यस्ता विषय अनुसन्धान गर्नुको सट्टा पीडकलाई सहयोग पुग्ने गरेर घटनाको अनुसन्धान गरिरहेको पाइएको छ।

फागुन ३० गते कार्कीको घरमा उनकी श्रीमती कामना पाण्डे मृत फेला परेकी थिइन्। पीडित पक्षले चैत १ गते आत्महत्या दुरुत्साहनको मुद्दा प्रहरीमा दर्ता गरेको थियो। मृतक कामनाकी आमा इन्द्रा पाण्डेले सुरुदेखिनै प्रहरी र पीडक पक्षबीच मिलेमत्तो देखिएको बताइन्। ‘हामीले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जाहेरी दिएका छौं, जाहेरीमा पीडकको मोवाइल नियन्त्रणमा लिएर सामाजिक सञ्जालमा भएका कुराकानीको पनि अनुसन्धान गर्न आग्रह गरेका छौं,’ उनले भनिन्, ‘यति हुँदाहुँदै पनि प्रहरीले मोवाइल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुका सट्टा हिरासतमा पीडकलाई मोवाइल दिएर प्रमाण नष्ट गर्ने काम भइरहेको छ।’

उनले प्रहरीको अनुसन्धानमाथि आफूहरुको अव विश्वास नरहेको पनि बताइन्। पीडिक पक्षले घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक कनक शाही र प्रहरी प्रमुख पदम विष्टमाथि आशंका गरेका छन्। थुनामा रहेका कार्की शुक्रबार साँझ ६ बजेदेखि अनलाइनमा देखिएका थिए। पीडित पक्षले अनलाइनमा देखिएको भन्दै प्रहरी खवर गरेलगत्तै उनी अफलाइन भएका थिए।

जाहेरी दिएकी मृतक कामनाकी आमा इन्द्राले प्रहरी गतिविधिले न्याय पाउने आशा मर्दै गएको बताइन्। ‘छोरीको ज्यान रहेन, न्यायको लागि प्रहरीमा उजुरी दिएकी थिएँ,’ उनले भनिन्, ‘उल्टै प्रहरी पीडकसँग मिलेर अनुसन्धानलाई कमजोर बनाइरहेको महशुस भएको छ।’

पाँच वर्षअघि विवाह गरेर गएकी कामनालाई कार्कीले पटक–पटक कुटपिट गर्ने गरेको पीडित पक्षको आरोप छ। पीडित परिवारले जाहेरीसँगै प्रहरीलाई केही अडियो, फोटाहरु र म्यासेज पनि उपलब्ध गराएका छन्।

पीडित पक्षले प्रहरीमा बुझाएका फोटोहरुमा मृतक पाण्डेलाई श्रीमानले कुटपिट गर्दा देखिएका घाउ–चोटहरु छन्। पीडित पक्ष छोरीको हत्यापछि झुण्ड्याइएको आरोप लगाउँछ। कामनाका बुवा गोविन्द पाण्डेको जेठमा कोरोनाका कारण मृत्यु भएको थियो। ‘न्यायका लागि आवाज उठाउने कोही नभएकाले पनि प्रहरीले हाम्रो निवेदनमाथि गहिरिएर अनुसन्धान गरेन,’ उनले भनिन्, ‘मृतकको शरिरमा चोटपटक लागेको देखिन्छ, तर प्रहरीले जाहेरी दिने पक्षलाईसमेत अनुसन्धानका बारेमा केही कुरा बताउँदैन।’ प्रहरीले गुपचुपमै अनुसन्धान प्रतिवेदन सरकारी वकील हुँदै जिल्ला अदालतमा बुझाएको छ।

पीडित पक्षले शनिबार पत्रकार सम्मेलन गरेर प्रहरीको अनुसन्धानप्रति असन्तुष्टी जनाउँदै राष्ट्रिय मानव अधिकार आयोग गुहारेको छ।

शुक्रबार पछिल्लो घटनाक्रमबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई अनौपचारिक जानकारी गराएको पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ। आफन्तहरुले न्यायको माग गर्दै प्रहरी प्रधान कार्यालयमासमेत निवेदन दिने तयारी गरेका छन्।

प्रहरीले घटनाबारे खासै चासो दिएको देखिँदैन। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम विष्टले थुनामा रहेका कार्कीले मोवाइल प्रयोग नगरेको दावी गरे। उनले कार्कीकी आमाको मोवाइलमा पीडकको फेसबुक लगइन भएको दावी गरे। ‘हिरासतमा रहेको व्यक्तिले मोवाइल चलाउन पाउँदैन,’ उनले भने, ‘थुनामा रहेको कार्कीकी आमाको मोवाइलमा पहिलेनै फेसबुक लगइन भएकाले देखिएको हुनसक्छ।’

पीडित पक्ष भने यो कुरा मान्न तयार छैन। ‘आफ्नो श्रीमतीलाईसमेत मोवाइलको पासवर्ड नदिने व्यक्तिले कसरी आमाको मोवाइलमा आफ्नो फेसबुकको पासवर्ड राख्छ,’ मृतकमा आफन्त रामप्रसाद गौतमले भने, ‘प्रहरी र पीडित पक्षको मिलेमत्तोमा घटनालाई कमजोर बनाइने खेल हुँदैछ।’