श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन

कोलम्बो ।   चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारण आन्दोलित भएसँगै सरकारले संकटकालको घोषणा गरेको हो । संकटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएको छैन।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्ने प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए ।

सरकारले प्रदर्शनमा उत्रनेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न आदेश जारी गरेको छ । राजधानी कोलोम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निशेधित क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुसमेत आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको छ। जसका कारण आम सर्वसाधारण आन्दोलित भएका हुन् ।

गत साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन् ।