ओलीको आक्रोश : दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा खै?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखेकोप्रति आक्रोशित व्‍यक्त गरेका छन्।

एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका १०० दिने उपलब्धिमा चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेको छ। शेरबहादुरजीले चुच्चे नक्सा हटाउनुभयो। के यो साधारण कुरा होइन। भौगोलिक अखण्डतामाथिकै खेलवाड हो।’

ओलीले आफ्नो नेतृत्वमा बनेको चुच्चे नक्सा दूतावासमा राखेर फर्किन प्रधानमन्त्री देउवालाई चेतावनी दिएका छन्। ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखेको छ। चुच्चे नक्सा हटाइएको छ। योभन्दा राष्टिय दलाली र लज्जा अरू के हुन्छ? शेरबहादुरजी दिल्ली किन जानुभएको हो? सोध्नुछ। फर्किनुभन्दा दिल्ली दूतावासमा हाम्रो सरकारले बनाएको नक्सा राखेर फर्किनुहुन्छ? कि हटाएर फर्किनुहुन्छ?’

पाँच दलीय गठबन्धन सत्ताको लागि राष्ट्रिय अखण्डतासँग सौदाबाजी गरिरहेको आरोप लगाएका छन्। ओलीले प्रश्न गर्दै भने, ‘गठबन्धन सत्ताको लागि राष्ट्रियता र भौगोलिक अखण्डतासँग यत्राे सौदावाजी गर्छ? बुद्धिजीवीहरू हात बाँधेर बस्ने कि? यसका विरुद्ध कसैको सबै एकजुट भएर बोल्नुपर्छ। राष्ट्रको कुरा हो। चुच्चे नक्सा खै? पाँच दलीय गठबन्धनको ‘देशद्रोही’हरुलाई सोध्नुपर्ने कुरा चुच्चे नक्सा खै?’