जनकपुरधाम : मेयरलाई शौचालयमा एसी, शहरको फोहोर ज्यूँका त्यूँ !

जनकपुरधाम ।    २ असोज २०७४ मा भएको स्थानीय तहको चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए ।

लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटोका भाडा बनाउन प्रोत्साहित गर्ने सहितका धेरै निर्णय त्यो बैठकमा भएको थियो । तर साढे चार वर्षमा पनि त्यो निर्णय अझै कार्यान्वयन भएको छैन ।

‘सधैं फोहोर देखिने यो शहर सफा होस्, मठमन्दिर र पोखरीको संरक्षणका साथै अन्य विकास होस् भन्ने चाहेका थियौं’ जनकपुरधामका संस्कृतिकर्मी मुरलीमनोहर मिश्र भन्छन्, ‘यो शहरको छुट्टै पहिचान भएकाले त्यस अनुरूपको काम हुनुपर्थ्यो तर भएन ।’

फोहोरमैला व्यवस्थापन गर्न माग राख्दै वडा अध्यक्षहरूले मेयरको घरमा लगेर फोहोर थुपारे, कार्यकक्षमा ताला लगाए । तर यसले मेयर साहलाई कुनै असर गरेन ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्र फोहोरमैला व्यवस्थापनका बारेमा मेयरले एक पटक पनि बैठक नबोलाएको बताउँछिन् ।

वडा नं. ७ का अध्यक्ष जानकीराम साह नगरपालिकामा नै रहेका सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी मेयरले उपलब्ध नगराउँदा नगर सफा हुन नसकेको बताउँछन् । भन्छन्, ‘कार्यपालिकाको पहिलो बैठकले नै शहरलाई पूर्ण रूपमा सरसफाइ गर्ने निर्णय गरेका थियौं । तर मेयरले यसतर्फ पटक्कै ध्यान दिएनन् ।’

जनकपुरधाममा २०७४ को असोजमा जस्तो फोहोरमैला र दुर्गन्ध थियो, अहिले त्योभन्दा बढी छ ।

नेपाल वार एशोसिएसन जनकपुरधामका अध्यक्ष किशोरी साह जनप्रतिनिधिले सरसफाइ, खुला चौपाया नियन्त्रणलाई प्राथमिकता दिएर काम गर्न नसकेको बताउँछन् । ‘फोहोर र खुला चौपायाका कारण नगर अस्तव्यस्त छ’ उनी भन्छन्, ‘कतिपय मान्छे घाइते भएका छन् । मलाई नै साँढेले हानेर घाइते बनायो ।’

चुनाव जितेलगत्तै जानकी मन्दिर आसपास सडकका पर्खालमा सरसफाइ सम्बन्धी चेतना जगाउने सन्देश लेख्ने बाहेक अरू कुनै काम भएको छैन । जनकपुरधामका रूपेश यादव भन्छन्, ‘काम गरेको भए त, नतिजा देखिन्थ्यो नि ?’

शहरको फोहोर व्यवस्थापनका लागि वडा नं. १८ मा ल्याण्डफिल साइट बनाउने निर्णय कार्यपालिका बैठकले नै गरेको थियो । त्यसका लागि एशियाली विकास बैंक एडीबीको परियोजनामार्फत ४८ करोड रुपैयाँ बजेट पनि उपलब्ध भयो ।

तर बजेटको सदुपयोग गर्न सकिएन र बजेट फ्रिज भयो । ‘मेयरले नै चासो नलिंदा बजेट फ्रिज भयो’ ७ नं. वडाका वडाध्यक्ष साह भन्छन्, ‘मेयरको टेबुलमा फाइल थन्किरह्यो । हामीले पटक–पटक भनिरह्यौं । तर उहाँले चासो नै देखाउनुभएन ।’

थन्क्याइयो ब्रुमर, सडाइयो टिपर

जनप्रतिनिधि आउनुअघिसम्म जनकपुरधाम उपमहानगरपालिकासँग ६ वटा टिपर र ८ वटा ट्रयाक्टर थिए । तर नवनिर्वाचित जनप्रतिनिधिले भएका त्यसलाई पनि सदुपयोग गर्न सकेनन् । ‘टिपर तिरहुतिया गाछीमा थन्क्याइएको छ, ट्रयाक्टर कहाँ राखिएको छ थाहा छैन’, वडा नम्बर ७ का वडाध्यक्ष साह भन्छन्, ‘अहिले मेयरले भाडामा ट्रयाक्टर लिएर काम गराइरहेका छन् ।’

साहका अनुसार तिरहुतिया गाछीमा थन्क्याइएका टिपर पनि काम नलाग्ने भएका छन् ।

जनकपुरधामलाई सफा राख्न संघीय सांसद राजेन्द्र महतोले संसदीय कोषबाट दुई वर्षअघि ब्रुमर किनेर उपमहानगरपालिकालाई हस्तान्तरण गरेका थिए । त्यो ब्रुमर पनि थन्किएको छ । सडकको धूलो सफा गर्नुपर्ने ब्रुमर आफैं धूलाम्य छ ।

उपमहानगरपालिकाले किनेको एउटा बस र ट्रक पनि सञ्चालनमा छैनन् । ‘एडीबी परियोजनाबाट बनाएको सडक संरक्षणका लागि सरसफाइ उपकरण किन्न ३ करोड विनियोजन गरिएको थियो । यो बजेट पनि फ्रिज भयो’, वडाध्यक्ष साहले भने । पहिला नै रहेका बारुण यन्त्र (दमकल)को मर्मत सम्भारमा पनि नगरले ध्यान दिएको छैन । दुईवटै बारुण यन्त्र चल्न सक्ने अवस्थामा छैनन् ।

विलासी जीवन, महँगो गाडी कबाडीमा

नगर सफा गर्न चासो नदिएका मेयर साहले आफ्नो कार्यकक्षमा भने शौचालयमा समेत एसी जडान गरे । चर्को आलोचना भएपछि त्यसलाई हटाइएको छ । ‘शौचालयमा एसी राखेको समाचार मिडियामा आएपछि उहाँले हटाउनुभयो’, वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंहले भने ।

मेयरमा निर्वाचित भएको केही दिनपछि नै उनले १ करोड ३८ लाख रुपैयाँमा फोर्ड कम्पनीको इन्डोभेर गाडी किने । २०७७ को मंसिरमा उनको गाडी दुर्घटना भयो । मर्मतसम्भार गराउँदै कार्यपालिका बैठकमा ३२ लाख रुपैयाँको बिल पेश गरेका थिए । कार्यपालिकामा विरोध भयो, बिल पास भएन । त्यसपछि त्यो गाडी अहिले थन्किएर बसेको छ । गाडीको धेरै पार्टपुर्जा हराइसकेको कर्मचारीहरू बताउँछन्।

आफ्ना लागि किनेको गाडी बिग्रिएपछि मेयर साहले उपमेयरको गाडी चढिरहेका छन् । उपमेयरले भने एडीबी परियोजनाबाट प्राप्त गाडी प्रयोग गरेको नगरपालिकाले जनाएको छ ।

कृषिसम्बन्धी भएन कुनै काम

मेयरमा साहसँग पराजित भएका कांग्रेसका मनोजकुमार साह कृषि नीति बनाउनु त टाढाको कुरा, कुनै किसानलाई एक बोरा मल पनि नगरले नदिएको बताउँछन् ।

जनकपुरका युवा किशोर साह पहिलाका १६ वटै वडामा किसानलाई बीउ, मल नगरपालिकाले उपलब्ध गराउँदै आएकोमा जनप्रतिनिधि आएपछि त्यो काम नै बन्द भएको बताउँछन् । ‘अहिले ग्रामीण भेगलाई समेत जोडेर २५ वटा वडा बनाइएको छ, जहाँ किसान धेरै छन्’ उनी भन्छन्, ‘तर किसानलाई कुनै सुविधा दिएको देखेनौं ।’

हरेक वर्ष १५ असारमा पन्डाल लगाएर रमिता देखाउने बाहेक कृषिमा अरू कुनै काम नै नभएको कांग्रेसबाट मेयरमा उठेका मनोज साहको आरोप छ ।

शिक्षा ऐन बन्यो, कार्यविधि बनेन

उपमहानगरपालिकाले २०७७ सालमा शिक्षा ऐन बनाएको छ । ऐन बनाउँदै शिक्षक दरबन्दी मिलान गरेपछि यो विषय अदालतसम्म पुग्यो । उच्च अदालत, जनकपुरधामले २८ माघ २०७८ मा दरबन्दी मिलान विरुद्ध अन्तरिम आदेश दिएको छ । उपमहानगरले शिक्षा ऐनको कार्यविधि र नियमावली नै नबनाई दरबन्दी मिलानको नाममा शिक्षकलाई सरुवा गरेको भन्दै अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।

शिक्षक सरुवा विरुद्ध कनकपट्टी माविका निमित्त प्रधानाध्यापक जगदीश साहले उच्च अदालत जनकपुरमा मुद्दा हालेका थिए । शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावली २०५९ को नियम ९९ मा सरुवा गर्ने अधिकार उपमहानगरपालिकासँग नरहेको भन्दै अदालतले शिक्षा ऐन २०७७ बनाए पनि कार्यविधि र नियमावली अहिलेसम्म नबनाएकोले शिक्षक सरुवा नियमसंगत नदेखिएको अदालतले ठहर गरेको थियो ।

उपमहानगरपालिका शिक्षा अधिकृत अन्जु पाण्डे मुद्दा हाल्ने शिक्षकको हकमा मात्रै अदालतले यस्तो फैसला गरेको बताउँछिन् । अन्तरिम आदेश खारेज गर्न पनि नगरपालिकाले मुद्दा दिएको त्यसमा छलफल भएको उनी बताउँछिन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले दरबन्दी मिलान गरेको विरुद्ध परेको रिटमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, समन्वय इकाई, संघीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा हाल्दा सर्वाेच्चले रिट खारेज गरिदिएको नजिर रहेकाले आफूहरूको दरबन्दी मिलान पनि ठीक हुनेमा पाण्डे ढुक्क छिन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामले स्थानीय मैथिली भाषाको पाठ्यक्रम तयारी गरेर लागू गर्ने तयारी भने गरेको छ । उनले २०७९ सालदेखि स्थानीय पाठ्यक्रम लागू हुने बताइन् ।

देखिने काम शहीद गेट, तर भ्रष्टाचारको गन्ध

जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि देखिने गरी एउटा काम भएको छ, शहीद गेट निर्माण । जनकपुरको मुजेलियामा यो गेट निर्माण गरिएको छ । सडक बत्ती जडान, केही ठाउँमा सीसीटीभी क्मामेरा जडानका काम नगरमा भएका छन् ।

धनुषाकारको शहीद गेटको माथि भगवान श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको मूर्ति राखिएको छ । यही गेटमा मधेश आन्दोलनमा धनुषामा शहीद भएका नीतु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको सालिक राखिएको छ । तर साढे ४ करोड लागतमा यो गेट बनाउँदा मात्र हैन सडक बत्ती राख्दा पनि भ्रष्टाचार भएको भन्दै मेयरमाथि प्रश्न उठेको छ । ‘बिजुली पोल गाड्नेदेखि बिजुली उपकरण किन्ने विषयमा पनि अनियमितता मात्रै गरिएको छ’, कांग्रेसबाट मेयरमा उठेका मनोज साह आरोप लगाउँछन् ।

मेयर साहको कामप्रति आफू मात्र नभई नगरका कुनै पनि नागरिक सन्तुष्ट नरहेको उनी बताउँछन् । ‘मेयरको कामले थोरै पनि सन्तुष्ट छैनौं’ कांग्रेसका साह भन्छन्, ‘उनी सामन्ती नेताको रूपमा प्रस्तुत भएका छन् ।’

कार्यकाल सम्हाल्ने वित्तिकै तानाशाही रूपमा नगरमा घर र जग्गा कर दोब्बर बढाएर जनताको ढाड सेक्ने काम गरेको उनको आरोप छ ।

कांग्रेसका साह आफूहरूले २०औं पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदै प्रतिपक्षीको भूमिका निभाए पनि मेयर नसुध्रिएको बताउँछन् । ‘कोरोना मेयरका लागि सञ्जीवनी बुटी बन्यो, उनलाई आत्मरक्षाको मौका दियो’ साह भन्छन्, ‘प्रतिपक्षीले पनि काम गर्न सकेनन्, जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न सजिलो भयो । साबुन, तौलियालगायतका सामानमा व्यापक अनियमितता भयो ।’

जहिल्यै विवादमा

२२ पुस २०७६ को दिउँसो मेयर साहकै कार्यकक्षको ढोका थुनेर पत्रकारलाई कुटपिट गरियो । जानकी मन्दिरको जग्गा अतिक्रमण भएको सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयर निकट मानिसहरूले कुटपिट गरे ।

उनी जानकी मन्दिरको जग्गा विवादमा पनि तानिए । मन्दिरको पूर्वतर्फ निजी घर जोगाउन मन्दिरकै पर्खाल भत्काएपछि मंसिर २०७६ मा उनी विवादमा तानिएका थिए । ‘सडक फराकिलो बनाउने नाममा अरूतिर व्यक्तिकै घर तोडियो, तर यहाँ व्यक्तिको घर बचाउन मेयरले भूमिका खेले’ संस्कृतिकर्मी मुरलीमनोहर मिश्रले भने, ‘जनताको हितभन्दा मेयरले आफ्नो स्वार्थका लागि काम गरेका रहेछन् ।’

आफ्नै जनप्रतिनिधिसँग पनि पटक–पटक विवादमा आए । योजना सम्बन्धी कुनै जानकारी नै नदिई मेयर साहले ९ असार २०७७ मा पाँचौं नगरसभा बोलाउने तयारी गरेपछि जनप्रतिनिधि नै विरोधमा उत्रिए । योजना तर्जुमा समितिले बनाएको योजना हेर्न नै नदिई सोझै पारित गर्न लागेको तथा बलजफ्ती माइन्यूटमा हस्ताक्षर गर्न लगाएको भन्दै उनीहरू धर्ना नै बसेका थिए ।

मेयरले आफूहरूको आन्दोलनलाई पनि बेवास्ता गर्दै सभाबाट योजना पारित गराएको वडाध्यक्षहरू बताउँछन् । ‘धेरै अनियमितता र भ्रष्टाचार गरेका छन्, धेरै उदाहरण छ उनले गरेको अनियमितताको’, वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह भन्छन् । ‘उनको मूल्यांकन जनताले नै गर्छ । म त के भन्नु ।’

वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह मेयरको कामलाई नम्बर दिनै नमिल्ने बताउँछन् । ४० वटाभन्दा बढी नीति बनाए पनि एउटा पनि कार्यान्वयन गर्न नसकेको उनको आरोप छ । नगरपालिकामा जति काम भएको छ त्यसको ६० प्रतिशत काम आफूले गरेको दाबी गर्ने उपमेयर रिताकुमारी मिश्र मेयर साहले ४० प्रतिशत मात्र काम गरेको बताउँछिन् । ‘नीतिनिर्माण बनाउने र त्यस अनुरूपको काम गर्ने जिम्मेवारी मेयरकै हुन्छ’ उनी भन्छिन्, ‘यो कार्यकालमा बढीभन्दा बढी नीतिनिर्माणको काम हुनुपर्थ्यो त्यो हुन सकेन ।’

काम गर्ने वातावरणलाई मेयर साहले प्रयोग गर्न नसकेको उनको निष्कर्ष छ । भन्छिन्, ‘म मेयर भएको भए घोषणा पत्रमा भएका ८० प्रतिशत गर्न सक्थें । किनभने यहाँ काम गर्ने वातावरण थियो, तर मेयरले गर्न सक्नुभएन ।’

वडा नं. २३ का वडाध्यक्ष शत्रुघ्न पाण्डे भने मेयरले गर्न सक्ने हरेक काम गरेको बताउँछन् । ‘जतिसक्नुभयो, त्यति काम गर्नुभएकै छ’ उनले भने, ‘परिषद्मा विरोध, कुर्सी तोडफोड हुँदासमेत मेयरले सक्ने जति काम गर्नुभएको छ ।’