४५ सय मिटर रनवेसहितको निजगढ विमानस्थल सन् २०३० सम्म सम्पन्न गर्ने योजना, दुई खर्ब लगानी

निजगढ विमानस्थलको ५० वर्षे नयाँ गुरुयोजना तयार, पहिलो चरणमै ठूला जहाज अवतरण गर्न सक्ने धावनमार्ग बनाइने, वार्षिक ९० लाख यात्रु ह्यान्डलिङ क्षमता वर्षौँदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (एनआइए)को नयाँ गुरुयोजना तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजगढ विमानस्थल पाँच चरणमा निर्माण गर्ने गरी ५० वर्षको गुरुयोजना तयार पारेको हो । सन् २०८० सम्म चारवटा धावनमार्ग, १० हजार वर्गफिटको टर्मिनल र वार्षिक १५ करोड यात्रु ह्यान्डलिङ क्षमताको बनाइने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा ४५ सय मिटर लामो र ६० मिटर चौडाइको धावनमार्ग प्रस्ताव गरिएको निजगढ विमानस्थल सरकार आफँैले बनाउने गरी गुरुयोजना तयार गरिएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तीन हजार मिटर लामो छ भने गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग क्रमशः तीन हजार र २५ सय मिटर लामो छ । निजगढमा पहिलो चरणमै विश्वका ठूला प्यासेन्जर तथा कार्गो विमानहरू अवतरण हुने क्यानको राष्ट्रिय गौरवका आयोजनाको प्रोजेक्ट इम्लिमेन्सन एन्ड को–अर्डिनेसन शाखाकी प्रमुख चाँदमाला श्रेष्ठले बताइन् ।

निजगढको पहिलो फेज सन् २०२४ मा निर्माण सुरु गरेर सन् २०२९ सम्म सम्पन्न गरी सन् २०३० बाट सञ्चालन गरिने लक्ष्य राखिएको छ । पहिलो फेज निर्माण गर्न करिब दुई खर्ब तीन अर्ब लाग्ने गुरुयोजनामा उल्लेख छ । यसअघिको गुरुयोजनामा पहिलो फेजको काममा एक खर्ब २० अर्ब लाग्ने अनुमान थियो । त्यसमा वार्षिक २० अर्ब रुपैयाँका दरले बजेट विनियोजन गरी सरकार आफैँले विमानस्थल बनाउने तयारी थियो । तर, अहिले पहिलो फेजमा करिब ८० अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । वास्तविक लागत भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि मात्र यकिन हुनेछ ।

यस्तो छ लगानी मोडालिटी

क्यानले तयार पारेको गुरुयोजनामा निजगढ विमानस्थलको पहिलो, दोस्रो र तेस्रो चरणको निर्माणमा ४.४६ बिलियन डलर अर्थात् पाँच खर्ब २८ अर्ब ७० करोड लगानी हुने अनुमान गरिएको छ । करिब दुई खर्ब लगानी हुने पहिलो चरणको निर्माणमा ४० प्रतिशत लगानी क्यान आफैँले जुटाउने, ३० प्रतिशत लगानी निजी क्षेत्रको इक्विटी र बाँकी ३० प्रतिशत लगानी वैदेशिक ऋण ल्याउने मोडालिटी गुरुयोजनामा छ ।

निर्माण सुरु गरेको पाँच वर्षमा सम्पन्न गर्ने गरी पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष ३० प्रतिशत र पाँचौँ वर्ष १० प्रतिशत लगानी गर्ने प्रस्ताव छ । क्यानले तयार पारेको गुरुयोजनाअनुसार निजगढ विमानस्थलमा पहिलो चरणमा यात्रु ह्यान्डलिङ क्षमता प्रतिवर्ष ९० लाख हुने प्रबन्धक श्रेष्ठले बताइन् । पहिलो फेजले सन् २०४० सम्मको एयर ट्राफिक धान्न सक्ने अनुमान छ । यस्तै, अन्तिम (पाँचौँ) चरण (सन् २०८० सम्म)को निर्माण सम्पन्न भएपछि यात्रु ह्यान्डलिङ क्षमता प्रतिवर्ष १५ करोड हुनेछ । पाँचौँ चरणमा चारवटा धावनमार्ग, दुई सय जहाज पार्किङ गर्न मिल्ने एप्रोन, १० लाख स्क्वायर मिटरका टर्मिनल भवनहरू हुनेछन् ।

यसैबीच, १७ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औं बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना विकास तथा लगानीको ढाँचाको विषयमा विस्तृत अध्ययन गरी बोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

यस्तो हुनेछ पहिलो फेज

पहिलो चरणमा बनाउने भनिएको ४५ सय मिटर लामो एउटा धावनमार्ग र एक लाख वर्गफिटको टर्मिनल भवनबाट ९० लाख यात्रुको मुभमेन्ट ह्यान्डलिङ गर्न सकिने प्रस्ताव छ । दुईवटा ट्याक्सी वे, ३० वटा जहाज पार्किङ क्षेत्र, १५ जहाज अटाउने सहायक स्ट्यान्ड पनि निर्माण गरिनेछ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए)ले प्रदान गरेको मापदण्ड र दिशानिर्देशअनुसार एक लाख वर्गमिटरको टर्मिनल भवनमा पिक आवरमा झन्डै ३५ सय यात्रुलाई सेवा दिन सकिने उल्लेख छ ।

निजगढ विमानस्थलको पहिलो फेजले करिब ७५ लाख वर्गमिटर क्षेत्रफल ओगट्ने प्रस्ताव छ । कार्गो एरिया ६० हजार वर्गमिटर र एप्रोन एरिया सात लाख ५० हजार वर्गमिटरको हुनेछ । एउटा एयर ट्राफिक कन्ट्रोल (एटिसी) टावर हुनेछ । पहिलो फेजमा प्रतिवर्ष ९० लाख यात्रु बोक्न ८५ हजार पाँच सय जहाजको मुभमेन्ट ह्यान्डलिङ गर्न सकिने क्यानको प्रोजेक्ट इम्लिमेन्सन एन्ड को–अर्डिनेसन शाखाकी प्रमुख श्रेष्ठले बताइन् ।

अहिले नेपालमा ठूला जहाज अवतरण गर्ने अन्तर्राष्ट्रिय विमानस्थल छैन । भौगोलिक दृष्टिकोणले कथंकदाचित् सडक नाकाहरूमा अवरोध भएमा पनि ठूला कार्गो जहाजबाट सामान आयात गर्न सकिने गरी विमानस्थल निर्माण गर्नुपर्ने क्यानका महानिर्देशक अधिकारीको भनाइ छ । ‘काठमाडौं, भैरहवा र पोखरामा ठूला जहाज अवतरण गर्न सक्दैनन्, निजगढ विमानस्थल बनाउँदा हामीले ध्यान दिनैपर्छ,’ चाँदमाला श्रेष्ठले भनिन्, ‘बरु, निजगढकै पनि अरू धावनमार्ग सानो क्षमताका बनाए पनि हुन्छ, तर कम्तीमा एउटा धावनमार्ग ठूला जहाज अवतरण गर्न सक्ने खालको हुनुपर्छ ।’

पाँचाैँ चरणमा १५ करोड यात्रु ह्यान्डलिङ

गुरुयोजनामा निजगढको दोस्रो चरणको अवधि सन् २०४० देखि सन् २०५० सम्म प्रस्ताव गरिएको छ । दोस्रो चरणमा रनवे–२, ट्याक्सी वे, एक लाख स्क्वायर मिटरको दोस्रो टर्मिनल भवन निर्माण गरिने उल्लेख छ । दुईवटा धावनमार्ग र दुईवटा टर्मिनल भवनबाट दुई करोड १० लाख यात्रुलाई सेवा दिन सकिने प्रक्षेपण छ ।

तेस्रो चरण (२०५०–२०६०) मा नयाँ रनवे निर्माण नहुने गुरुयोजनामा उल्लेख छ । यो चरणमा सय जहाज अटाउने पार्किङ र ३० जहाज अटाउने अस्थायी पार्किङ निर्माण गर्ने प्रस्ताव छ । तीन लाख ५० हजार वर्गमिटरका तीनवटा टर्मिनल भवनबाट वार्षिक चार करोड ५० लाख यात्रुलाई सेवा दिन सकिने प्रक्षेपण छ । चौथो चरण (२०६०–२०७०) मा वार्षिक नौ करोड यात्रु ह्यान्डलिङ गर्ने पूर्वाधार निर्माणको प्रस्ताव छ ।

यो चरणमा रनवे–३, ट्याक्सी वे, तीन लाख ५० हजार स्क्वायर मिटरको नयाँ टर्मिलन भवन, एक सय ६० जहाज पार्किङ, ६० जहाज अस्थायी पार्किङ बनाउने गुरुयोजनामा उल्लेख छ । पिक आवरमा २० हजार यात्रुले सेवा पाउन सक्नेछन् । यस्तै, पाँचौँ चरण (२०७०–२०८०) मा दुई सय जहाज अटाउने एप्रोन, चारवटा धावनमार्गबाट वार्षिक १५ करोड यात्रुलाई सेवा र पिक आवरमा ३० हजार यात्रुले सेवा पाउन सक्नेछन् ।

अहिलेसम्म भएको प्रगति

‘अहिलेसम्म पूर्वतयारीकै कामहरू भइरहेका छन्,’ निजगढका परियोजना प्रमुख विजय यादवले भने, ‘अझै पनि विमानस्थल कुन मोडालिटीमा बनाउने ? कहाँबाट पैसा जुटाउने ? भन्ने विषय टुंगोमा पुगेको छैन ।’ विमानस्थलले ओगट्ने जमिनमध्ये एक सय १० बिघा व्यक्तिको नाममा थियो । जसमध्ये ७० बिघाको मुआब्जा वितरण भइसकेको उनले बताए । तर, विमानस्थलको धावनमार्गमा रहेको टाँगिया बस्ती स्थानान्तरण गर्ने विषयमा भने अझै निर्णय भइसकेको छैन । अहिलेसम्म विमानस्थलको चार किल्ला छुट्याउने, तारबार गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न भएको छ भने बकैया र पसाहा नदी नियन्त्रणको काम अन्तिम चरणमा छ । विमानस्थलमा पर्ने रूख कटानको विषय अदालतमा विचाराधीन अवस्थामा छ ।

पहिलो फेज निर्माण रनवे–टूबाटै सहज

नेपालको पर्यटन, रोजगारी र समग्र अर्थतन्त्रमा दूरगामी महŒव राख्ने हुनाले क्यानले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेर नयाँ गुरुयोजना तयार पारेको महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ । देशभित्रका विभिन्न राजनीतिक दलबीच सहमति नभई निजगढ विमानस्थल निर्माण सुरु गर्न नसकिने क्यानको ठहर छ ।

विमानस्थल परिसरमा रहेको टाँगिया बस्ती स्थानान्तरण गर्नका लागि पनि राजनीतिक सहमति आवश्यक छ । टाँगिया बस्ती सारेर गुरुयोजनामा प्रस्तावित दोस्रो रनवेबाट काम सुरु गर्न सबैभन्दा सहज हुने राष्ट्रिय गौरवमा आयोजनाको प्रोजेक्ट इम्लिमेन्सन एन्ड को–अर्डिनेसन शाखाकी प्रमुख चाँदमाला श्रेष्ठले बताइन् । ‘विमानस्थल बनाउन सुरु गरिहालौँ, टाँगिया बस्ती पछि सारौँला भन्ने हो भने पहिलो रनवेबाट पनि काम सुरु गर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसका लागि पनि रूख कटानको अनुमति दिनुपर्ने हुन्छ ।’

विमानस्थलको पहिलो फेज सुरु गर्न रनवे–टूबाटै सहज हुने बताउँदै श्रेष्ठले टाँगिया बस्ती उपयुक्त ठाउँमा स्थानान्तरण गर्नेतर्फ नै पहलकदमी गर्नुपर्ने औँल्याइन् । देशमा दूरगामी महत्‍व राख्ने परियोजना निर्माण गर्दा रूख कटानमा अवरोध गर्न नहुने महानिर्देशक अधिकारी बताउँछन् । प्रस्तावित विमानस्थल क्षेत्रको पूरै वन फँडानी गर्ने पनि होइन ।

‘कि टाँगिया बस्ती सारेर विमानस्थल बनाउन अगाडि बढ भन्नुपर्‍यो, कि रूख काट्न दिएर अगाडि बढ भन्नुपर्‍यो, हामी रनवे वानबाट काम सुरु गर्छौँ,’ उनले भनिन्, ‘हामीले आवश्यक ठाउँमा मात्र रूख कटानी गर्छौँ, त्यसबराबरको जंगल अन्यत्रै विकास पनि गर्छौँ ।’ टाँगिया बस्तीमा १३ सय ४९ घरधुरी रहेका छन्, जहाँ सात हजार हाराहारी जनसंख्या छ ।