एक्लै बहुमत ल्याउँछौंः उपाध्यक्ष थापा

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्। प्रमुख पार्टीहरुबीच गठबन्धनको कुरा चलिरहेपनि एमाले एक्लै चुनावमा गएर बहुमत ल्याउने जिकिर गरे।

प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको पत्रकार भेटघाट नेता बादलले भने, ‘सिंगो देश निर्वाचनमा होमिएका छन्। राजनीतिक दल निर्वाचनमा सक्रिय छन्। यो परिस्थितिमा देश र जनताको रक्षाका लागि पनि सोचर अघि बढेका छौं।’

‘देशको राष्ट्रियता जोखिममा परेको छ, लोकतन्त्र धरापमा छ, देशको आर्थिक स्थिति डामाडोल छ, अर्थविद्को भनाई अनुसार देश असफल उन्मुख छ, यस प्रकारको परिस्थितिमा नेकपा एमालेले देशको नेतृत्व दिनुपर्छ, परिस्थितिलाई सामान्य बनाउन एमालेको नेतृत्व आवश्यक छ,’ उनले भने।

यो सरकारले देशलाई दुर्घटनातिर लगेको छ, सदन अस्तव्यस्त छ, न्यायव्यवस्था भताभुंग बनेको छ। यस्तो अवस्थामा देशले ठूलो चुनौतीको सामाना गरिरहेको बताउँदै नेकपा एमाले जनादेशको माध्यमबाट यो देशको बाटो आफ्नो हातमा लिन चाहेको बताए। देशको राजनीतिक दुईवटा धुव्रमा विभाजित भएको छ। ‘एकातिर नेपाली काँग्रेसको नेतृत्वमा अपवित्र गठबन्धन छ, अर्कोतिर नेकपा एमालेको नेतृत्वमा सबै देशभक्तहरु, लोकतान्त्रिक शक्तिहरु उभिएका छन्। आगामी निर्वाचनमा हाम्रा मुल एजेण्डाहरुलाई लिएर चुनावमा होमिन तयार छौ,’ नेता बादलले भने।

एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले मुलुकको भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताए। उनले भने, ‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होईन दुई तिहाई बहुमतका साथ पहिलो हुने लक्ष्य हो।’

नेता बादलले स्थानीय निर्वाचन भय रहित र निष्पक्ष हुनेमा आशंका रहेको बताए। वैशाख ९ गते पार्टी स्थापना दिवसको दिन एमालेले चुनावी घोषणापत्र, चुनावी एजेण्डा सार्वजनिक गर्ने बताए।